अर्जेन्टिना र केप भर्डे मैदानमा, मध्यान्तरसम्म अर्जेन्टिना अगाडि, मेस्सीको गोल
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
572
Shares
काठमाडौँ । विश्वकप फुटबलमा अर्जेन्टिना र केप भर्डे भिडिरहेका छन् । अन्तिम ३२ को खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले १–० ले अग्रता लिएको छ ।
खेलको २९ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले लिसान्द्रो मार्टिनेजको पासमा सुन्दर गोल गरेका हुन् ।
योसँगै मेस्सीले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले छैटौँ सहभागितामा ३० खेलबाट २० गोल गरिसकेका छन् ।
केप भर्डेले पहिलो पटक विश्वकप खेलिरहेको हो । सनसनी मच्याउने क्रममा केप भर्डेले पहिलो सहभागितामै नकआउटमा पुगेको हो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १४ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए ।
३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १४ खेलबाट १४ टिम बाहिरिएका छन् भने १४ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड र इजिप्ट प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।
त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो ।
त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो ।
त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो ।
स्वीट्जरल्याण्डले अल्जेरियालाई २–१ ले हरायो । इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।