गेटा अस्पताल अब शहीद दशरथ चन्द विश्वविद्यालयको शिक्षण अस्पताल
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
219
Shares
काठमाडौँ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गेटा अस्पताललाई उक्त विश्वविद्यालय मातहतको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय परिमार्जनसहित स्वीकृत गरेको हो।
सरकारको यो निर्णयसँगै सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुनुका साथै चिकित्साशास्त्रको उच्च शिक्षा अध्ययन-अध्यापन, क्लिनिकल अनुसन्धान तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बलियो आधार तयार भएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच पुर्याउने दूरगामी उद्देश्यका साथ गेटा अस्पतालको भौतिक संरचना निर्माण गरिएको थियो। तर, आवश्यक कानुनी र नीतिगत स्पष्टताको अभावमा यो अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेको थिएन। अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा अघि बढाउन लामो समयदेखि स्थानीय स्तरबाट माग र नीतिगत तयारीहरू हुँदै आएका थिए।
क्याबिनेटको औपचारिक स्वीकृतिसँगै अब अस्पतालको संगठनात्मक एवं संस्थागत संरचना परिवर्तन हुनेछ। यसका साथै शैक्षिक कार्यक्रमहरू तय गर्ने, विशेषज्ञ चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र पूर्वाधार थप गर्ने प्रक्रिया द्रुत गतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।