नबिल बैङ्क युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स वेस्ट बैङ्क सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
93
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेड विश्व स्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ। बैङ्क युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स वेस्ट बैङ्क, नेपाल्स वेस्ट बैङ्क फर ईएसजी र नेपाल्स वेस्ट बैङ्क फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो। यसबाट बैङ्कले नेपालको बैङ्किङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको छ।
यी प्रतिष्ठित अवार्डहरूले नबिल बैङ्कको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैङ्किङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गरेको बैङ्कले जनाएको छ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैङ्क सम्मानित हुन पाउँदा खुसी लागेको बताए। उनले भने, “युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। नेपाल्स वेस्ट बैङ्क फर ईएसजी तथा एसएमईज् जस्ता उपाधिहरू प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, शेयर धनी तथा साझेदारहरूले नबिल बैङ्कमाथि राख्नुभएको विश्वासको परिणाम हो। यी सम्मानहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्। हामी आगामी दिनहरूमा पनि उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहनेछौँ।”
युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैङ्किङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एक मानिन्छ। जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादन मार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थाहरूलाई सम्मान गर्दछ।
नेपाल्स वेस्ट बैङ्क उपाधिले नबिल बैङ्कको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैङ्किङ उत्कृष्टतालाई मान्यता दिएको छ।
त्यसै गरी, नेपाल्स वेस्ट बैङ्क फर ईएसजी अवार्डले दिगो वित्त (सस्टेनेबल फाइनान्स), जिम्मेवार बैङ्किङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैङ्कले प्रदर्शन गरेको नेतृत्वलाई सम्मानित गरेको छ। नबिल बैङ्कले आफ्नो व्यावसायिक रणनीतिमा दिगोपनालाई केन्द्रमा राख्दै वातावरणीय तथा सामाजिक प्रभाव सिर्जना गर्ने विभिन्न पहलहरूलाई निरन्तर अघि बढाउँदै आएको छ।
यस्तै, ‘नेपाल्स वेस्ट बैङ्क फर एसएमईज्’ अवार्डले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवाहरू, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवाहरू उपलब्ध गराउन बैङ्कले खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको छ।
विगतका वर्षहरूमा नबिल बैङ्कले डिजिटल बैङ्किङ, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै, दिगो बैङ्किङ अभ्यास तथा वित्तीय समावेशीकरणका क्षेत्रमा निरन्तर लगानी गर्दै बैङ्किङ क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ। बैङ्क आफ्नो सेवामार्फत ग्राहक, समुदाय, शेयर धनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न प्रतिबद्ध रहेको छ।
नबिल बैङ्क निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैङ्क हो। यस बैङ्कले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले पछिल्लो समयमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैङ्किङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको छ।