एनपी साउदको प्रश्न - के यसकै लागि जनताले दुई तिहाई मत दिएको हो ?
जनकपुरसहित प्रदेश दुईका सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ७ मंगलबार
418
Shares
जनकपुरधाम । नेपाली कांग्रेसले जनकपुरसहित प्रदेश नम्बर दुईका सबै जिल्ला सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। जनकपुरधाममा कांग्रेसले सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । नागरिकता विधेयक मधेश विरोधी रहेको भन्दै प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले खारेज गर्न माग गरेका हुन्।
दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम समापनको अवसरमा केन्द्रको निर्देशनअनुसार नेपाली कांग्रेसले मंगलबार विरोध प्रदर्शन गरेका छन । नागरिकता विधेयकका साथै कांग्रेसले संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ।
प्रदर्शनका सहभागीहरुले भ्रष्टाचार, महंगीलगायत सर्वसाधारणको दैनिकीसँग जोडिएका महत्वपूर्ण सवालहरु नियन्त्रण गर्न नसकेको भन्दै सरकारकोविरुद्धमा चर्को नाराबाजी गरे । जनकपुरधामको पिडडिया माइस्थानस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुँदै रेलवे स्टेशन पुगेर कोणसभामा परिणत भएका छन ।
केन्द्रबाट खटेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको दम्भमा कम्युनिष्ट सरकार जनताको लोकतान्त्रिक अधिकार खोस्न उद्यत् भएको आरोप लगाए।
‘सरकारले आमनागरिकलाई शान्ति सुरक्षा दिन सकेको छैन्, भ्रष्टाचार र महंगी हरेक दिन बढेको छ’, उनले प्रश्न गरे,‘के यसकै लागि जनताले दुई तिहाई मत दिएको हो त?’ नेपाली कांग्रेस धनुषाको आयोजनामा निकालिएको विरोध प्रदर्शन गरेको थियो।