arrow

कुन मुख देखाएर हिँड्ने प्रधानमन्त्रीज्यू अब तपाई र तपाईका मन्त्रीहरु ? 

प्रधानमन्त्रीज्यू भ्रष्टाचारमा शून्य सहनशिलता भनेको यही हो ?

logo
रिता खनाल,
प्रकाशित २०७६ चैत १९ बुधबार
rita-khanal.jpg

नेपाली जनतालाई दिग्भ्रमित गरेर स्थिरताको सरकारको भीख माग्दा भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भाषणबाजीमा निकै समय खर्चिनु भयो ।

चर्का कुरा गरेपछि ताली पनि निकै पाउनु पनि भयो। साँच्चि नै गरिहाल्छ की भनेर तपाईलाई जनताले अभिमत पनि दिए ।

तपाई जति कुर्लिनु भयो जनताले पनि पत्याए । विश्वास गरेर तपाईले नेतृत्व गरेको नेकपालाई प्रचण्ड मत पनि दिए। तर त्यो विश्वास तपाईले टिक्न दिनु भएन । त्यसमा पानी खन्याई दिनुभयो। 

तपाई सत्तासिन भएदेखि नै तपाईका अति विश्वास पात्रहरुले नेतृत्व गरेको मन्त्रालयहरुमा अर्बौंको भ्रस्टाचारको तथ्यहरु सार्वजनिक भएका छन्। तर तपाई अलिकति पनि लाज नमानी तिनीहरुको बचाउ गर्दै ढाकछोप गरिरहनु भएको छ। 

आफ्नो पुरै टीम एक पछि अर्को भ्रष्टाचार र अनियमिततामा मुछिँदा आफ्नै भूमिका शंकास्पद हुने भयले हो वा किन हो तपाई भ्रस्टाचारीहरुको रक्षा कवच बनेर संरक्षण गरिरहनु भएको छ। यो हामी जस्ता नागरिकले बुझ्न सकेका छैनौं। 

एनसेलको अर्बौंको कर छली,  बालुवाटार जग्गा प्रकरण, वाइडबडी जस्ता थुप्रै भ्रस्टाचारजन्य प्रकृतिका र यति होल्डिङ्सलाई सिंगो राज्य दोहनमा अभिभावक बनेर दुई तिहाइको दम्भमा तपाइले मनपरी गरि नै रहनु भयो । 

आखिर यो के का लागि सन्तानलाई जम्मा गर्नुभयो भने त्यो छैन। तर कस्का लागि यो भ्रष्टाचार गरेर अकुत सम्पति कमाइदिँदै हुनुहुन्छ ? आसेपासेहरुलाई हेर्नुस् ती सबै हिजो तपाइका वरिपरि थिएनन् । यी सत्ताको राप र तापमा मात्र जोडिएका हुन्। 

तर तपाई तिनका लागि किन वद्नाम हुँदै हुनुहुन्छ हामीले बुझ्न सकेका छैनौं। राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट नेपालको प्रधानमन्त्री भ्रष्टाचारको संरक्षक भनी व्यापक हुँदा पनि तपाईले किन देखेको नदेख्यै सुनेको नसुन्यै गरिरहनु भएको छ।

तपाइको धर्मपुत्र सरहको गोकुल बास्कोटा तत्कालिन सन्चार मन्त्रीलाई आफ्नो क्याबिनेटको सबै भन्दा उत्कृष्ट र अब्बल भनेर सार्बजनिक मञ्चहरुमा कुर्लिदै हुनुहुन्थ्यो। 

हप्ता दिन नपुग्दै ७० करोडको कमिशन मोलमोलाइको अडियो बाहिरियो । यो जगतले सुन्यो । यत्रो ठूलो घोटाला यी मन्त्री एक्लैले गर्ने हिम्मत पक्कै गरेका छैनन्। प्रधानमन्त्रीकै निर्देशनमा त यो काम भएको छैन भनेर नेपाली जनता लख काटेका थिए त्यो विस्तारै पुष्टी हुँदै गएको छ।

जनतालाई भ्रमित गर्न भए पनि तपाईंले गोकुल बास्कोटालाई हदैसम्म्को कार्बाही गर्नुहोला भन्ने थियो उल्टो चोख्याउन लागिपर्नु भएको छ । अझ तपाई पदीय मर्यादा र गरिमालाई बिर्सेर भ्रष्टलाई बचाउन सरकार र पार्टी दुबैलाई पूर्ण रुपमा दुरुपयोग गरिरहनुभएको छ। 

भ्रष्टाचारका यावत  घटनामा तपाइको प्रधानमन्त्रीय भूमिका जनताले हेरिरहेका छन् ।  हिजो त देश डुब्यो भनेर चिन्तित जनता केही फरक परिस्थितिमा छटपटाइ रहेका छन्। बिश्वका शक्तिसम्पन्न राष्ट्रहरु जस्को बिज्ञानले प्रकृति जितेको भान पारेका थिए त्यस्ता देशहरु आज कोरोना भाइरससँग पराजित भएका छन् । 

संसार चिहान बनिसकेको यो बिपत्तीमा हाम्रो देशमा यो महामारी फैलियो भने बचाउन सक्ने कुनै पनि सामर्थ्य हामीसँग छैन। कुन बेला कुन क्षण जीवनको अन्तिम घडी हुने हो भनेर नागरिक त्रसित छन्।  

विदेशी भूमिबाट सीमा क्षेत्रमा आएका सयौं नागरिक भोकभोकै अलपत्र परेका छन्। उनीहरुको जन्मसिद्ध अधिकारबाट बञ्चित गरि सरकार एउटा न्युनतम मानबिय धर्म पूरा गर्न सकिरहेको छैन । 

महामारी नियन्त्रणको पहिलो चरणको स्वास्थ्य उपकरण र सामाग्री खरिदका लागि समेत विश्व बैंकको ऋण नेपाली जनताको थाप्लोमा थुपारेको रकममा पचासौं गुणा महंगो स्वास्थ्य सामग्री किनिएको छ। यस्तो विषम परिस्थितिमा पनि महंगोमा सामान खरिद गरेर कमिशन खाए भनेर मात्र चित्त बुझाउने ठाउँ छैन। 

त्यहि महंगोमा किनेको सामान पनि विश्व स्वास्थ्य संगठन र आफ्नै देशको प्रयोगशालाले समेत गुणस्तरहिन भने पछि कुन मुख देखाएर हिड्ने प्रधानमन्त्रीज्यू अब तपाई र तपाईको मन्त्रीमण्डलका सदस्यहरु ? मानविय संवेदना अलिकति पनि देखाउनु हुन्थ्यो भने यस्तो अनियमिमता गर्नेलाई तपाई आफ्नै टीमकालाई भए पनि पाता फर्काउनु हुन्थ्यो तर त्यसो गर्नुभएन। बरु उल्टो तिनको बचाउ गरिरहनुभएको छ। 

यो भन्दा अमानवीय र भ्रष्टाचारको पराकाष्ठा अरु के हुन सक्छ ? यो चरम भ्रष्टाचारको बिरुद्धमा जब जन आवाज उठन थाल्छ तब तपाईं रक्षा कवच बनेर संरक्षकको रुपमा उभिनु हुन्छ।

यसलाई कसरी बुझ्ने ? प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तपाइको सरकारको भ्रष्टाचारमा शून्य सहनशिलता भनेको यहि हो ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ