- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पार्टी तथा सरकार नेतृत्वबाट अलग गराउन खोजेपछि आक्रोशित भएका केपी शर्मा ओली अहिले कानुनी दाउपेचसंगै सडक तताउने रणनीतिमा जुटेका छन् ।
राष्ट्रपतिको भरोसा पाएका ओली पछिल्लो राजनीतिक गतिरोधलाई चिर्दै सत्तामा रहिरहने दाउपेचमा लागेका छन् । सत्तामै रहेका बेला नेकपा पार्टीसमेत आफू अन्तर्गतमा पार्ने नभए विघटित नेकपा एमालेलाई पुनर्जिवित गराउने र सूर्य चिन्ह आफ्नो अन्तर्गत ल्याउने प्रयासमा लागेका छन् ।
यसका लागि उनी विभिन्न जोडघटाउमा लागेका छन् । पार्टीमा अल्पमतमा परे पनि ओली सरकारमा रहेकै कारण सरकारी संयन्त्र तथा पार्टीको संयन्त्र परिचालित गर्ने पक्षमा छन् ।
बिहीबार मात्रै केही युवाहरु माइतीघर मण्डलामा उनको पक्षमा बोले । ओलीले साँझ बालुवाटारमा बोलाएर आफ्नो पक्षमा देशव्यापी प्रदर्शनमा लाग्न निर्देशन दिएका छन् ।
आफ्नो पक्षमा माहोल बनाउने क्रममा इतर पक्षका नेताहरुलाई भारतबाट परिचालित दलाल नेताहरुको रुपमा प्रचार गर्न समेत उनले अर्हाएका छन् ।
यसका लागि उनले खर्चको कुनै पनि मापदण्ड र सीमा बनाएका छैनन् । खर्चको चिन्ता नगर्न भन्दै केही व्यक्तिलाई जिम्मा नै दिएका छन् ।
उसो त अनेरास्ववियु र युवासंघका कार्यकर्ताहरु करोडौंमा खेल्ने समेत भइसकेका छन् । शुक्रबार मात्रै प्रदर्शन गर्दै नेकपाका कार्यकर्ताहरुले प्रचण्ड, माधव नेपाल र झलनाथलाई भारतीय दलालको ट्याग लगाएका छन् ।
सडकमा यो खालको गतिविधि गरिरहँदा सरकारी संयन्त्रसमेत प्रचण्डसहितका नेताहरुको विरुद्ध परिचालित गर्न सक्ने संकेत ओलीले दिएका छन् ।
यसै क्रममा ओलीले निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादललाई तान्ने समेत प्रयास सूरु भएको छ । सो प्रकरणमा उनका छोरालाई जोडेर प्रचार सुरु भएको छ ।
अख्तियारलाई समेत नेकपाका नेताहरु विरुद्ध लाग्न परिचालित भएको बुझिन्छ । अख्तियार स्रोतका अनुसार ओली इतरका नेताहरु अख्तियारको आँखामा परेका छन् ।
कानुनी रुपले समेत सर्वोच्चको भूमिका समेत आउने भएकाले प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर राणालाई समेत मनाउने प्रयास गरेका छन् । यद्यपि प्रधानन्यायाधीशले भने ओलीको फोन नउठाएको स्रोतको दावी छ ।
संकटकाल समेत लगाउन सक्ने गरी ओली अगाडि बढेको बताइन्छ । यो विषयमा प्रधानसेनापतिसंग समेत छलफल भएको बुझिन्छ । तर सेना भने संकटकालको पक्षमा नरहेको बताइन्छ ।
माधव नेपाललाई बालुवाटार जग्गा प्रकरणमा र प्रचण्डलाई संक्रमणकालिन न्यायमा घचेट्ने धम्की दिएरै पनि आफू बलियो बन्ने प्रयासमा ओली रहेको स्रोत बताउँछ ।