- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कैलाली । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न कैलाली र कञ्चनपुर जिल्लामा आएको संसदीय उपसमितिको टोलीमा घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई समेत प्राविधिक सहयोगीका रूपमा सहभागी गराएको पाइएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विभिन्न जिल्लामा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भएको बेथिति र कटानीबारे अध्ययन गर्न जनता समाजवादीका सांसद प्रदीप यादवको संयोजकत्वमा नेकपाका प्रेमबहादुर आले र कांग्रेसकी मीना सुब्बा सदस्य रहेको छानबिन उपसमिति बनाएको थियो ।
उक्त उपसमितिका सदस्य गत साता स्थलगत अध्ययनका लागि कैलाली र कञ्चनपुरका विभिन्न सामुदायिक वनमा अनुगमनमा पुगेको थियो ।
उक्त स्थलगत अध्ययनका क्रममा निलम्बनमा रहेका सहायक वन अधिकृत डीसीसमेत प्राविधिक सल्लाहकारको हैसियतमा उपस्थित भएको बताइएको छ ।
डोटीको लानाकेदारेश्वर सब–डिभिजन वन कार्यालयमा प्रमुख भएर काम गरेका डीसीलाई सरुवा भएर डिभिजन वन कार्यालय कञ्चनपुर जाँदै गर्दा सेवाग्राहीबाट घूसबापत बुझेको ३ लाख २६ हजार रुपैयाँसहित अख्तियारको टोलीले डडेलधुराको भात्काँडाबाट पक्राउ गरेको थियो । उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
काठको छोडपुर्जी सहज गरिदिएबापत घूस बुझेर धनगढी गइरहेको सूचनाका आधारमा अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । घूस प्रकरणपछि निलम्बनमा परेका डीसीलाई प्राविधिकको हैसियतमा छानबिन उपसमितिमा सहभागी भएको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएपछि चर्को बिरोध भइरहेको छ।
स्रोतका अनुसार छानबिन उपसमिति सदस्य सांसद आलेले नै डीसीलाई दाङबाट आफ्नै गाडीमा राखेर कैलाली ल्यायको बुझीएको छ । डीसी दाङकै हुन् ।
‘डोटीमा कार्यरत छँदादेखि माननीयज्यू र डीसीबीच हिमचिम थियो,’ डोटीमा सँगै काम गरेका वन तथा वातावरण मन्त्रालयका एक उपसचिवले भने, ‘मित्रता अहिलेसम्म रहेछ भन्ने कैलाली घटनाले पुष्टि गर्यो।’
सांसद आलेले उनलाई वन प्राविधिक सहयोगीका रूपमा सहभागी गराएका हुन् । आले नेकपाका डोटीबाट निर्वाचित सांसद हुन् । सुदूरपश्चिम प्रदेशका काठ व्यवसायीहरूका अनुसार राजनीतिमा आउनुअघि उनी काष्ठ व्यवसायमा संलग्न थिए ।
स्थलगत अध्ययनका क्रममा सांसद आलेले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई गालीगलौज र हप्कीदप्की गरेको भिडियोसमेत बाहिरिएपछि टोलीको सर्वत्र आलोचना भएको छ ।
आलेले कैलालीस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीलाई हप्कीदप्की गरेका थिए । त्यो व्यवहारप्रति सामुदायिक वन उपभोक्ता समूहहरूले पनि विरोध जनाएका छन् ।
ध्यानाकर्षण पत्र
वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फँडानीको अनुगमनका क्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिका सदस्य प्रेमबहादुर आलेमगरले उपभोक्ता समितिका पदाधिकारी, कर्मचारीलाई गरेको गाली गलौचप्रति वन प्राविधिक कर्मचारीले ध्यानाकर्षण भएको बताएका छन् ।
फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र नेपाल वन प्राविधिक संघले ध्यानाकर्षण पत्र जारी गर्दै संसद आलेमगरले गरेको गालीगलौचप्रति घोर भत्सर्ना गरेका छन् । अनुगमनका क्रममा गत सोमबार कैलालीको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरी र वन कार्यालयका तल्लो तहका कर्मचारीलाई सार्वजनिक लेखा समितिका उपसमिति सदस्य माननीय प्रेमबहादुर आलेमगरले हप्किदप्की गरेको भिडियो मंगलबार सामाजिक सन्जाल भाइरल भएको थियो ।
वन कर्मचारी तथा सामुदायिक वनका अध्यक्ष माथि गरिएको व्यबहार माथी गम्भीर ध्यानाकर्षण भएको बताउँदै फरेस्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र नेपाल वन प्राविधिक संघले संयुक्त रुपमा माननीय भरतबहादुर साह सभापति रहेको सार्वजनिक लेखा समिति सिंहदरबार काठमाडौं र माननीय पूर्णकुमारी सुबेदी सभापति रहेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सिंहदरबार काठमाडौंलाई सम्बोधन गरि ध्यानाकर्षण पत्र प्रकाशित गर्दै घटनाको भर्सना र खेद प्रकट गरेको गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ(‘नेपाल सरकारले मन्त्रिपरिषदको निर्णयअनुसार मिति २०७७–२–१५ गते साल प्रजातीलगायतका सम्पूर्ण वन पैदावर कटान, संकल, बिक्रीबितरण रोक लगाइ र मिति २०७७–२–२८ गते नेपाल सरकार मन्त्रिपरिषदको अर्को निर्णय अनुसार वैज्ञानिक बन ब्यबस्थापन गरिएका जिल्लाहरुमा बन फडानी बारेमा जाचबुझका लागि सोमबार टोली कैलाली जिल्लामा पुगेको थियो ।
सार्बजनिक लेखा समितिले जाँच बुझमा खटिएका माननीय सदस्यहरुले निस्पक्ष ,तटस्थ भइ स्थलगत भ्रमण गरि वास्तविकता प्रतिबेदनमा पेस गर्नुपर्नेमा स्थानीय समिति पदाधिकारी, उपभोक्ता एवम वन कर्मचारीलाई सार्वजनिक स्थलमै गाली बेइज्जत गरि वास्तविकतालाई प्रभाव पार्ने गरि प्रस्तुत भएको भन्दै खेद प्रकट गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
माननीय जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले गुन्डागर्दी शैलीमा यस्ता अभिव्यक्तिबाट निज माननीय सँगै अरु माननियको पनि अबमूल्यन भएको भनिएको छ ।
एक पक्षिय रुपमा आफ्ना स्वार्थ जोडिएको विषयमा अग्रिम ,पूर्वानुमानको आधार पक्षपाती धारणा बनाइ गालिगलौच गर्ने माननीयबाट बास्तबिकता, सत्यतथ्यमा आधारित प्रतिवेदन आउदैन भनी निजलाई कारबाहीको माग गर्दै आलेको सट्टामा अर्का निस्पक्ष सद्स्य पठाउन समेत ध्यानाकर्षण गराएको छ ।