arrow

टेलिकमको ब्यवस्थापनसंग कर्मचारी आन्दोलित, एमडी अधिकारी कै कारण नाफा घटेको आरोप

६ अर्ब भन्दा बढीले टेलिकमको नाफा घट्यो 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
nepal-telecom-building1.jpg

काठमाडौं। नेपाल टेलिकमको नाफामा ठुलो गिरावट आएको छ। अघिल्लो आर्थिक बर्ष १५ अर्ब नाफा गरेको टेलिकम यस आर्थिक बर्षमा ६ अर्बमा संकुचित भएको बताइएको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको निगाहाले प्रबन्ध निर्देशक (एमडी) बनेका डिल्लीराम अधिकारीले राम्रो योजना ल्याउन नसक्दा नाफा घटेर नेपाल टेलिकम डुब्ने स्थितिमा पुगेको कर्मचारीले आरोप लगाएका छन ।  एमडी अधिकारी १० औं तहमा रहेका बेला २ पदमाथि १२ औं तहका अर्थात एमडी भएका ब्यक्ति हुन्।

एमडी अधिकारीले कर्मचारी कार्यविधी नै परिवर्तन गरेर आफु पुन: टेलिकम नछोड्ने जालो बुनिरहेको उनीहरुको आरोप छ । तल्लो तहका कर्मचारीहरुको वृत विकास हुन नपाउँने गरी एमडी नै फेरि प्रबन्ध निर्देशक बन्न मिल्ने गरी कार्यविधीमा परिवर्तन गर्न लागेपछि कर्मचारीहरु संघर्ष समिति नै बनाएर आन्दोलित बनेका छन्।

हाल टेलिकमको प्रबन्ध निर्देशक भइसकेपछि ३ वर्षे कार्यकाल सक्काएर संस्थानबाटै अवकास लिनु पर्ने कार्यविधी रहि आएको छ । यसोहुँदा ती व्यक्तिले संस्थानमा आफ्नो चलखेल गर्न पाउँदैनन् भने अर्का तिर तल्लोतहका कर्मचारीहरुको वृत विकास समेत नरोकिने उनीहरुले बताएका छन्।

तर, एमडी अधिकारीले भने मन्त्रालय एवं मन्त्रीहरुसँग मिलेर एमडीले ३ वर्षेकार्यकालबाट अवकास भएपछि फेरि प्रबन्धकमा जागिर खान पाउँने किसिमको व्यवस्था गर्न लागेको खुलेसगै कर्मचारी उनीसग रुष्ट भएका छन् । यसोहुँदा तल्लो पदका कर्मचारीहरुको वृतविकास हुन पाउँदैन भने संस्थानमा एउटै व्यक्ति पटक पटक निर्णाणक तहमा घुमिफेरी बसिरहने एक कर्मचारीले हाम्राकुरालाई बताए । कम्पनीको हितमा भन्दा पनि स्वार्थी समूहको चंगोलमा मात्र काम गर्दा कम्पनीको नाफा घटेको उनको आरोप छ । 

कार्यकालको छोटो अवधिमै नेपाल टेलिकमलाई एमडी अधिकारीले ठूलो घाटामा पारेका छन् । तर, उनैले फेरि एमडीबाट प्रबन्धक (दुई तह कम) भएरै काम गर्न सक्ने व्यवस्था मिलाउन थालेपछि कर्मचारीहरु उनीप्रति सशंकित देखिएका छन् । उनैले लबिङ गरेर नयाँ व्यवस्था लोकसेवा आयोगबाट बनिसकेर मन्त्रालयमा पुगिसकेको पनि ति कर्मचारीले बताए।

यसअघि एमडी पदका लागि जेष्ठपदस्थका व्यक्तिलाई प्राथमिकता दिइने व्यवस्था रहेको थियो । तर, गोकुल बाँस्कोटा मन्त्री भएका बेला अधिकारीलाई नै ल्याउनको लागि उक्त निर्णयलाई उल्ट्याएर प्रबन्धकले पनि आवेदन दिन पाउँने र प्राथमिकता पाउँने विधिलाई मन्त्रीपरिषद्बाट पारित गराएर अधिकारीको बाटो खोलेका थिए । सोही विधी पारित गराएर बाँस्कोटाकै मिलेमतोमा डिल्ली अधिकारीलाई एमडी बनाइए पछि सरकार र नागरिकको समेत लगानी रहेको कम्पनीलाई सिथिल बनाएको  कर्मचारीहरुले बताएका छन्।

टेलिकमको संयुक्त संघर्ष समितिले शुक्रबार पत्रकारसम्मेलन गर्दै संस्थानमा व्यवस्थापन पक्षका कमीकमजोरीहरुको पर्दाफास गरेको हो। डिल्लीराम अधिकारी प्रबन्ध निर्देशकमा नियुक्त भएपछि टेलिकमको नाफा उल्लेख्य रुपमा घट्दै आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ६६ करोड खुद नाफा कमाएको नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/०७७ मा करिब ९ अर्ब मात्रै नाफा कमाएको छ । गत आर्थिक वर्षमा टेलिकमले ३.१६ प्रतिशत राजस्व गुमाएको हो ।

यस बाहेक हाल टेलिकमका थुप्रै योजना तथा परियोजनाहरु लथालिंग अवस्थामा पारेको आरोप समेत ब्यवस्थापनलाई लगाइएको छ। २०७६ माघमा सम्पन्न भइसक्नु पर्ने ४ जी सञ्चालनको काम हालसम्म ६० प्रतिशत मात्रै भएको बताइएको छ । अप्टिकल फाइवर बिच्छाउने काममा समेतमा प्रगति नभएको आरोप छ । यसै अन्तर्गतको आइपीटीभी सेवा अहिलेसम्म सुरु हुन सकेको छैन्।

त्यस्तै टेलिकमले अहिलेसम्म भुक्तानी सेवा प्रदायकको व्यावसायिक सेवा सुरु गर्न सकेको छैन्। विदेशबाट महँगो शुल्क हालेर खरिद गरेर ल्याएको इन्टरनेट व्यान्डविथ समेत ब्यवस्थित ढंगले बितरण गर्न नसकिएको आरोप छ।

प्रबन्ध निर्देशक अधिकारीले टेलिकमका कर्मचारीहरुलाई नै निरुत्साहित पार्ने किसिमले आउटसोर्सिग गरेर खर्च बढाएको समेत बताएका छन । टेलिकम अन्तर्गतका ठूला परियोजनाहरु थर्ड पार्टी मूल्यांकन एवं प्राविधिक लेखापरिक्षण नै नगरी सञ्चालन भइरहेको कर्मचारीहरु कै बिरोध छ। टेलिकमले ठूलो लगानी गरेर ल्याएका उपकरणहरुको प्रयोग हुन नसक्दा करोडौंको आम्दानी गुमेको अधिकारीहरु बताउँछन्।

विगत २ वर्षदेखि कम्पनीको विज्ञापन रोकिएर महत्वपूर्ण कामहरुले गति लिन नसकेकोले बताइएको छ। कम्पनीलाई तिव्र रुपमा भइरहको इन्टरनेटको विकासका क्षेत्रमा लैजान कम्पनीले कुनै ठोस योजनाहरु अगाडि बनाउन नसकेको बताइएको छ।

ईकमर्स, ईलर्निंग, ईपेमेन्ट, ईमेडिसिन एवं इन्टरनेटका हरेक क्षेत्रको अत्यधिक प्रयोगका कारण लागि मागको व्यवस्थापनसँगै सेवाग्राहीलाई नेपाल टेलिकमको भरपर्दो र विश्वसनीय सेवा दिनका लागि आफुहरु लागि पर्ने संघर्ष समितिले बताएको छ। नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेज बहादुर शाही, नेपाल टेलिकम वर्कस युनियनका महासचिव महेश्वर खड्का र नेपाल टेलिकम कर्मचारी युनियनका महासचिव धर्मेन्द्र कुमार यादवलगायतको संयुक्त सहभागितामा टेलिकम भित्रका वेथितिहरुको पर्दाफास गरिने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ