कांग्रेस महाधिवेशन कहिले ? अब कुन मोडालिटीमा जाने ?
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
620
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुनमा नहुने निश्चित भए पनि नेतृत्वले अझै अर्को तिथि तोक्न सकेको छैन ।
एक वर्ष समय लम्ब्याएर पनि महाधिवेशनका लागि अहिलेसम्म विशेष मोडालिटी ल्याउन नसक्दा नेतृत्वको आलोचना पनि उत्तिकै भइरहेको छ ।
कोरोना भाइरसको महामारीका कारण सक्रिय सदस्यहरुको समेत पनि नामावली संकलन गर्न कठीन भइरहेको अवस्थामा यही संक्रमणकै बीच विभिन्न विकल्पमार्फत महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिन थालिएको छ ।
जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्ने अवस्था नरहेकाले नयाँ मोडालिटीअनुसार जानुपर्नेमा नेताहरुले सुझाएका छन् ।
जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित रहेर बिहीबार गरिएको भिडियो संवादमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले तल्लो तहका अधिवेशनको मोडालिटी परिवर्तन गर्ने पक्षमा आफू सकारात्मक रहेको बताए ।
उनले विकल्प अपनाएर १६५ निर्वाचन क्षेत्रमा अधिवेशन गर्न सकिने बताए । उनी आफू पनि महाधिवशेन रोक्ने पक्षमा नरहेको बताउँछन् ।
गत महिना भएको पदाधिकारी बैठकमा फागुनमा महाधिवेशन हुन नसक्नेमा एकमत जस्तै बने पनि कहिले गर्ने र कसरी गर्ने भन्ने मोडालिटीका बारेमा कांग्रेसभित्र अन्योल छ । नेता निधिले महाधिवेशनको कार्यतालिका कार्यान्वयन नभएको स्वीकार्दै निर्वाचन समितिलाई समायोजनको पूर्ण अधिकार प्रत्यायोजन गर्दासमेत संगठन समायोजन हुन नसकेको बताए।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सहजीकरण गरेको उक्त भिडियो संवादमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले डेढ महिनाभन्दा पर महाधिवेशन सार्न नहुने बताए । उनले महाधिवेशनको कार्यतालिका अनुसार काम नहुनुमा पदाधिकारी मुख्य जिम्मेवार रहेको प्रश्न उठेपछि यसको दोष भने कोरोनालाई दिएका छन् ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तयारीमा पदाधिकारीको सक्रियता नदेखिएको आरोप लगाए । उनले यदि आगामी भदौसम्म महाधिवेशनको मिति पुर्याउने हो भने स्थानीय तहको चुनावमा पार्टीको तयारी नपुग्ने भन्दै जतिसक्यो छिटो महाधिवेशन गर्न जोड दिएका छन् ।
उनले महामारी सकेर महाधिवेशन गर्ने हो भने २–४ वर्ष कुर्नुपर्ने भन्दै नेतृत्वमाथि कटाक्ष गरेका छन् । महामारीकै क्रममा कतिपय मुलुकमा नियमित काम भइरहेको दृष्टान्त दिँदै नेता सिटौलाले विकल्पमा गएर भए पनि महाधिवेशन पूरा गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले यही गतिले भदौमा पनि महाधिवेशन हुनेमा आशंका व्यक्त गरे । उनले प्रतिपक्षीमा बसेको हैसियतले हामीले नेकपाको सरकारले यो गरेन र त्यो गरेन भन्दै गर्दा कांग्रेसले आफूले चाहिँ अधिवेशन किन समयमा नगरेको भनी प्रश्न उठ्ने उनले बताए । जेठसम्म भेला भएर अधिवेशन गर्न नसकिने हुँदा विकल्प खोज्नुपर्ने उनले सुझाव दिएका छन् ।
त्यस्तै अर्का केन्द्रीय सदस्य पार्टीमा उम्मेदवार को बन्ने भन्नुभन्दा पनि पार्टीको सिद्धान्त र विचार अहम् भएकोमा जोड दिए ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डिला संग्रौलाले समावेशी आधारमा कांग्रेस महाधिवेशन हुनुपर्नेमा जोड दिएकी छिन् ।
भिडियामो सबैजसो नेताहरुले नेपाल बारले गरेजस्तै अधिवेशन तल्लो तहमा गर्नुपर्ने विकल्प अघि सारेका छन् ।
नेपाल बारको महाधिवेशनमा सम्बन्धित तल्लो तहबाट माथिकालाई भोट हाल्ने नियम बनाइएको थियो । यो विकेन्द्रीकृत तरिकाले महाधिवेशन गर्नुपर्छ भन्ने हो ।