arrow

७० करोड कमिसनमा जोडिएका बाँस्कोटालाई चोख्याउने प्रयास र कठघरामा उभिएको अख्तियार

logo
आकाश शर्मा,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
gokul-baskota1.JPG

काठमाडौं। सत्तरी करोड कमिसन काण्डमा संलग्न रहेका तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटालाई चोख्याउन अहिले राज्य संयन्त्र पुरै परिचालित भएको छ। प्रधानमन्त्रीकै ईच्छा भएपछि मातहतका मात्र नभई र संवैधानिक आयोग पनि त्यतिकै सक्रिय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कमिशन काण्डलाई जसरी तामेलीमा राख्ने दौडधुपमा लागेको छ यसले हाम्रो राज्य संयन्त्रहरु कसरी शक्तिको अगाडी निरिह बन्दै गएका छन वा भनौ कसरी ति संस्थाहरु राजनीतिक प्रभावमा गरुढको अगाडी सर्प जस्ता भएका छन् देखाएको छ। अहिले कस्ता पात्र र प्रवृती सत्तरी करोड कमिसन प्रकरणका बाँस्कोटाहरुको बचाउनमा उभिएका छन् ति पात्र र प्रवृतीको चर्चा गरौः   

प्रधानमन्त्री र उनको सचिवालय
काभ्रेको एक कार्यक्रममा गोकुल वास्कोटा र अन्य मन्त्रीलाई एकै तुलोमा जोख्दा गोकुल एकातिर र अन्य सम्पुर्ण मन्त्रीहरु अर्कोतिर भनेर गोकुलको वखान गरेर नथाक्ने प्रधानमन्त्री समेत उनको वचाउमा लाग्छन भन्ने स्वभाविकै थि यो। आफ्नै घरमा राखेका विश्वासपात्रलाई वद्नाम हुनबाट बचाउनु आफनै बचाउ हो भन्ने प्रधानमन्त्रीलाई थाहा नहुने कुरै भएन । सार्वजनिक रुपमा नै धेरै पटक गोकुल निर्दोष रहेको बताउने प्रधानमन्त्री ओलीले त्यो अडियो उनको नरहेको दावी गर्ने गरेका छन् । देशमा सम्वृद्धी र सुशासन कायम गर्ने साथै भ्रष्ट्राचारी अनुहार समेत नहर्ने वाचा गरेका ओलीले गोकुललाई काखी च्याप्ने गरेको यो दृष्टान्तले देशव्यापी रुपमा साथै पार्टी भित्र उनी इतर समुहमा आलोचना व्यापक हुने गरेको छ । फरक यति हो कतिपय अगाडी भन्छन कतिपय पछाड भन्छन् । तर ओली जुनसुकै मुल्य चुकाएर भए पनि गोकुललाई सफाई दिलाएर फेरि मन्त्रि बनाउने उद्यत रहेको देखिन्छ ।

अख्तियार र अदालत
गोकुललाई चोख्याउन र ओलीलाई गुन लगाउन अख्तियार हात धोएर लागिपरेको छ । पछिल्लो पटक फाइल तामेलिमा राख्ने समेत प्रपञ्च भएको छ । यस्तै प्रकरणमा आफेनै पूर्व आयुक्तलाई कारवाही गरेको आयोगलाई प्रमाणमा के कति गाम्भिर्यता नलागेर फाइल तामेलिमा राख्न परेको हो सो स्पष्ट हुन नसके पनि प्रमुख आयुक्त नविन घिमिरे र ओलीको पुरानो राजनैतिक सम्बन्ध यहानिर प्रधान भएर आएको छ । साथै नियुक्तिको गुन तिर्न घिमिरेले बाँस्कोटाको फाइल तामेलीमा राख्ने प्रपञ्च गरेको आँकलन गरिएको छ । यसका साथै अख्तियारले अडियो सार्वजनिक गर्ने विजय मिश्रलाई ७ दिने पत्र काटी उपस्थित हुन वोलाउनुले पनि अख्तियार गोकुललाई चाँडोचाँडो चोख्याएर उन्मुक्ती दिने प्रयासमा देखिएको छ । अख्तियारले हतारो देखाउँदै गर्दा लामोसमयदेखि थोरवहुत विश्वास आर्जन गरिरहेको एक संवैधानिक आयोग भने कठघरामा उभिनुपर्ने भएको छ । महराले अदालतबाट सफाई पाए लगतै गोकुल पनि ओलीको सम्बन्धको फेरो समातेर अख्तियारबाट सफाई पाइहालिन्छ भनेर जिल्ला अदालतमा मानहानीको मुद्वा दायर गरेको उनका निकटवर्तीहरुले वताउने गरेका छन । यसमा गोकुलका वकिल मार्फत न्यायाधिशसमक्ष कुरा पुगिसकेको स्रोतले बताएको छ ।

मिडियाहरु
अडियो प्रकरण पश्चात गोकुललाई कार्वाही हुनुपर्ने पुरानो अडानका विपरित मूलधारको दावी गर्ने पत्रिकाका साथै बाँस्कोटाले आफु निकटका मिडियाहरुमा वारम्बार आफु निर्दोष भएको दावी गर्दै दोषी प्रमाणीत भए आफु सन्यास लिन तयार भएको समेत वताउने गरेका छन् । आफू निकटहरुको समुह बनाई आफ्ना ट्विट र अन्तर्वार्ताहरु शेयर गर्ने तथा समाचार वनाउने कार्य गर्न लगाई नुनपानिको सोझो गरि कमिसन काण्डबाट चोख्याउने अभियान जारी छ ।  

विकल पौडेल र सुरक्षण मुद्रण केन्द्र
पदले सुरक्षण मुद्रणको कार्यकारी निर्देशक भए पनि आवरणमा विकल पौडेलले दलाली र एजेन्टको कार्य गर्ने गरेको विषय अव लुकेन । ठुला ठुला टेण्डरको स्पेशिफिकेशन तयार गर्न लागिपर्ने र आफु निकट वा आफु नै एजेन्ट रहेको कम्पनीलाई टेण्डर दिलाउन पौडेल लागि परेको तथ्य पनि वाहिर आइसकेको छ । गृह मन्त्रालय परिसरमा रहेको सूचना प्रविधि केन्द्रको उपनिर्देशक रहदादेखि नै यस्तो धन्दामा संलग्न रहेका पौडेलले नै बाँस्कोटालाई प्रभावित पारेर राहदानी विभागले लगाईसकेको टेण्डर समेत रोकेर नेपालमा नै सुरक्षण मुद्रण स्थापना गरी आफु निकटको कम्पनीलाई टेण्डर दिलाउन लागि परे पनि पछि नीजले भने वमोजिम नभएपछि अडियो प्रकरण वाहिरिएको बाँस्कोटा निकटकाले बताउने गरेका छन् ।  

तत्कालिन मन्त्री राम कार्की हुँदा नियुक्त भए पनि पौडेल कुरा मिलाउन खप्पिस साथै रंग फेर्न सिपालु भएका कारण एमालेका नेताहरु र बाँस्कोटा समेतलाई रिझाउन सफल भएका थिए । नीजले आफ्नो कार्यकालमा सुरक्षण मुद्रण स्थापना त परको कुरा सिंहदरबारको १ कोठामा सिमित अफिस समेत म्यानेज गर्न नसकेको स्वयं त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन । पौडेल ग्रिनकार्डधारी समेत भएको भनी विभिन्न मिडियामा समाचार आउदा समेत मन्त्रालय वेखवर वनेर कुनै स्पष्टीकरण नमाग्दा स्वयम मन्त्रालयको उच्च स्रोत आश्चर्यचकित परेको थियो । नीजको कार्यालयमा समेत संगठन निकट कर्मचारीहरु थुपारेर माखो मार्न नसके पनि निजको कार्य सम्पादन सम्झौतामा उच्च मुल्याङकन हुने गरेको स्रोतले बतायो ।

संसदको लेखा समिति
अडियो प्रकरण पश्चात संसदको लेखा समितिमा शुरुमा गरमागरम वहस चले पनि हाल आएर सो प्रकरण सेलाएको देखिन्छ । विजय मिश्रले सार्वजनिक रुपमा वताए अनुसार लेखा समितिका सदस्य प्रेम आले केहि सांसद स्वयं विदेशी सेक्युरिटी प्रेसको एजेन्ट रहेको कारण शुरुमा पौडेललाई अडियो प्रकरण र जीटुजीमा कसरी एजेन्ट घुस्यो र कसरी त्यस्तो काण्ड वाहिर आयो भनी जवाफ दिन वोलाउदा उनी भागेर अमेरिका पुगेका थिए । हाल सार्वजनिक लेखा समितिमा समेत कुरा मिलिसकेकोले फेरी नवोलाउने भनी हिड्ने गरेका छन् । यसबाट समेत गोकुललाई चोख्याउन सार्वजनिक लेखा समिति पनि लागिपरेको छ । ओलीका दाहिने हात रहेका बाँस्कोटासँग निहु खोजेर वेकारमा ओलीसँग सम्बन्ध किन विगार्ने भनी लेखा समिति नेतृत्व पनि लागेको देखिएको छ ।

मन्त्रालयका कर्मचारी र ट्रेड युनियन
बाँस्कोटालाई जोगाउन शुरुदेखि नै लागेका अर्का पात्र हुन काभ्रे निवासी तथा आफुलाई वास्कोटाको मतदाता भनी चिनाउने तथा सार्वजनिक रुपमा कमरेड भन्दा हर्षले गदगद हुने मन्त्रालयमा उपसचिव शिव प्रसाद त्रिपाठी । माथिसम्मै सेटिङ मिलाउन माहिर उनले बाँस्कोटा प्रकरणमा समेत कागजात मिलाउन साथै फाइल लुकाउन, बाँस्कोटालाई चोख्याउने कागजातहरु सुरक्षित पार्ने अझै लागि परेको मन्त्रालयकै एक उच्च अधिकृतले वताए । बाँस्कोटा पुरानै हैसियतमा फर्किने भन्दै त्रिपाठी मन्त्रालयमा अरुलाई थर्काउदै हिड्न समेत थालेका छन् । विपक्षीलाई भित्तामा पुर्याउन माहिर बाँस्कोटासँग मिलेर मन्त्रालयका युनियन निकट र फरक मत र विचार राख्ने कर्मचारीको सरुवा गर्नुका साथै विभिन्न आरोप लगाई दुख दिने काममा उनीहरुको जुगलबन्दी अहिले पनि जारी छ ।

बाँस्कोटाको अडियो सार्वजनिक भएको २ घण्टा वित्न नपाउदै नेपाल निजामति कर्मचारी युनियनले बाँस्कोटाले समग्र कर्मचारीलाई होच्याएर वोलेको शब्दप्रति आपत्ति जनाउदै विज्ञप्ति निकालेको थियो । तत्कालिन एमाले निकट कर्मचारी संगठनले वास्कोटाले राजिनामा दिए पश्चात मात्रै विज्ञप्ती निकाल्यो । बाँस्कोटाले युनियन निकट कर्मचारीहरुको बोर्ड समेत हटाउन लगाएको साथै युनियन निकट कर्मचारीलाई खोजी खोजि डाडो कटाउनु भनी सार्वजनिक कार्यक्रममै बोलेका थिए । पछिल्ला दिनहरुमा पुनः बाँस्कोटा मन्त्री हुने चर्चाले कर्मचारीहरु त्रसित रहेको पाइन्छ ।

ओली निकट भएर छोटो समयमै उदाएका पात्र जसरी उदाएका थिए त्यसरी नै अस्ताए । ओलीले बेलुन फुलाए जसरी फुलाएका बाँस्कोटाले आफूलाई मोटाएको एवं कद बढेको सम्झिरहेका थिए । तर सत्तरी करोडको काँडाले फुलेको बेलुनमा प्वाल पारिदिएर हावा खुस्काइदिएसँगै उनी वास्तविक धरातलमा ओर्लिन वाध्य भएका छन् । तर फेरि बेलुनमा हावा भर्दै बाँस्कोटालाई चोख्याउन खेलमा सबै संयन्त्रहरु परिचालित भएका देख्दा देशमा सुशासन र विधीको शासन चाहि एकादेशको कथा बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ