arrow

युरो २०१६ : वायन रुनी हुँदै इङ्गल्याण्डले युरोकप जितेको हेर्ने पंकजको धोको

logo
चन्द्र धामी,
प्रकाशित २०७३ जेठ २४ सोमबार
pankaj-nemwang.jpg.jpeg
काठमाडौं । युरो कप २०१६ को माहोल विस्तारै तात्दै गएको छ । जसको असर नेपाली फुटबल समर्थकहरुमा समेत परेको छ । अहिले सर्वत्र युरोकपका अशोसियट राष्ट्र र सो राष्ट्रबाट खेल्ने खेलाडीबारे चर्चा भइरहेको छ । नेपाली फुटबल समर्थकसंगै नेपाली फुटबल खेलाडी र व्यवस्थापकमा समेत युरोकपको माहोल तरंगित भएको छ । थुप्रै खेलाडी र फुटबल समर्थकको युरोकप हेर्ने आ–आफ्नै योजना छ । 
 
फुटबल प्रेमी एवं अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय कार्यसमिति सदस्य पंकज नेम्बाङ आसन्न युरोकपका खेल हेर्न आँतुर रहेको बताउँछन् । हाम्राकुरासंग  नेम्बाङले भने, ‘परिवारका सबै सदस्य बसेर युरो हेर्ने योजना छ । सुरुका क्वालिफायर खेल घरमै हेर्छु । महत्वपूर्ण म्याचहरु साथीहरुसंग हेर्दा रमाइलो हुन्छ । त्यसै गर्नु पर्छ ।’ युरोकपलाई म फुटबल प्रेमीहरुको मूख्य चाडको रुपमा लिन्छु । 
 
युरोकपप्रतिको साँचो र नेपाली फुटबल
युरोकपप्रति मात्रै नभई नेपाली फुटबलमा समेत नेपालीहरु चाँसो छ । नेम्बाङ भन्दछन्, ‘जसरी राति राति नसुतेर युरोकप हेरिन्छ । त्यसरी नेपाली फुटबलप्रतिको माया र समर्पण समेत बढ्दै गएको छ । अहिले नेपाली फुटबल रुचाउनेको भिड बढिसकेको छ । युरोपको जस्तो चाँप नहोला तर दक्षिण एसियाको हकमा निकै अघि बढेका छौं ।’ नेपाली फुटबलको भविष्य छ । 
 
मनपर्ने टिम र खेलाडी 
नेम्बाङले आफुलाई स्पेन र इङ्गल्याण्ड मन पर्ने बताए । उनले भने, ‘स्पेनले ३ पटक युरोकप जितिसकेको छ तर इङ्गल्याण्ड हालसम्म फाइनल नपुगेपनि उसको खेल निकै रोचक र सशक्त छ ।’ खेलाडीमा आफुलाई इङ्गल्याण्डका ३० वर्षीय फरवार्ड एवं मिडफिल्डर वायन रुनी मन पर्ने उनले सुनाए । रुनी इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेडका फरवार्ड एवं मिडफिल्डर हुन् ।
 
१० नम्बर जर्सी लगाउने रुनी एभर्टन हुँदै म्यानयु पुगेका हुन् । करियरको सुरुवात भने कोपलहाउस ब्वाइजबाट गरेका हुन् । आफ्नो खेल करियरमा उनले क्लबका लागि एक सय ९३ तथा राष्ट्रिय टिमका लागि ५२ गोल गरिसकेका छन् । सन् २००३ मा इङ्गल्याण्डको राष्ट्रिय टिमबाट खेल्नु अघि उनले यु–१५, यु– १७ र यु–१९ बाट खेले । 
 
वायन रुनी हुँदै इङ्गल्याण्डले युरो जितेको हेर्न धोको छ 
वायन रुनीमा के छ त्यस्तो ? जवाफमा नेम्वाङले भने, ‘वायन रुनी फुटबलका मुख्य आकर्षण हुन् । उनको खेल मलाई साह्रै मन पर्छ । उनी एक्लैले खेलको माहोल परिवर्तन गर्न सक्छन् । उनीमा मिडफिल्ड र स्ट्राइकको राम्रो क्षमता छ ।’ यसपटक म उनले मिडफिल्ड भन्दा पनि स्ट्राइकर भएर खेलेको हेर्न चाहन्छु । यद्यपि, रुनीलाई खेलाउने रणनीति हालसम्म राम्रो नभएको उनको बुझाई छ । उनलाई ‘ब्याक’ राखेर खेलाउने गरिएको छ, उनले थपे, ‘स्ट्राइकर नै खेलाइदिएको भए राम्रो हुने थियो । उनी भएकै बेला इङ्गल्याण्ड युरोकप च्याम्पियन भएको हेर्ने धोको छ ।’ उनीमाथि मेरो ठूलो क्रेज छ । 
 
एन्फा पुनः बहालीले दुःखी पनि छैन खुसी पनि छैन 
युरोको कुरा गर्दै जादा नेम्बाङसंग एन्फाले भरखरै गरेको पुनःबहाली र पदस्थापनपछिको मनस्थितिबारे समेत सम्वाद भयो । उनले भने, ‘यो पुनःबहालीले दुःखी पनि छैन खुसी पनि छैन । चुनौती थपिएको छ । हिजो हामीले साधारण सभामा सहभागि गराइ पाउँ भनेका थियौं । अहिले पुनःबहाली नै भयो । धेरै एजेण्डाहरु मिलाएर जानु छ ।’ एन्फामा व्यवस्थापन पक्ष पूर्ण डामाडोल छ ।
 
यो अवस्थामा सबै मिलेर विज्ञहरुको सुझाव अनुरुप अघि बढ्नु पर्दछ । उनले अब एन्फाको नेतृत्व हस्तान्त्रण हुने र नयाँ युगको सुरुवात हुने बताए । यद्यपि, अबको नेतृत्वले ध्वस्त संरचनालाई जिर्णोद्धार गरेर अघि बढ्न सक्नु पर्नेमा उनले जोड दिए । एन्फाले ३ उपाध्यक्ष सहित नेम्बाङलाई निलम्बन गरेकामा विश्व फुटबल महासंघ फिफाको निर्देशनमा भर्खरै पदस्थापन गरेको थियो । 
 
आमूल परिवर्तन गर्ने सोच मात्रै की ? 
नेम्बाङले विगतमा स्पष्ट कार्यदिशा नभएको र एकलौटी नेतृत्वको बलमिच्याँईले समस्या भएको बताए । अब हामी कसरी अगाडी बढ्ने भन्नेबारे सोचिरहेका छौं । उनले भने, ‘हामीले जिल्ला कमिटी, फाइनान्स, टुर्नामेन्ट कमिटी लगायत सबैलाई एक साथ सक्रिय गरेर अघि बढ्न सके मात्रै नेपाली फुटबलको विकास सम्भव रहेको खाका पेश गर्दै छौं ।’ २०७० कार्तिक ७ देखि साधारण सभा नै भएको छैन । अब विशेष साधारण सभा बोलाएर नयाँ नेतृत्व चयन गर्न फिफाले भनेको छ । 
 
मोफसलको क्लबाट एन्फा यात्रा 
२०२८ सालमा स्थापना भएको झापाको पुरानो क्लब रोलिङ फुटबल क्लबबाट जिल्ला फुटबल संघमा आएको नेम्बाङ बताउँछन् । म मोफसल बाटै एन्फामा आएको हुँ, उनले भने, ‘सन् २००२ मा एन्फामा प्रवेश गरेँ ।’ उमेरले ४५ कटेका नेम्बाङ एन्फाका अन्य पदाधिकारी जस्तो राष्ट्रिय टोलीबाट आएका होइनन् । बरु उनका भाई आकाश विक्रम नेम्बाङले राष्ट्रिय टोलीबाट फुटबल खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ