arrow

प्रधानमन्त्री ओलीको राजनीतिक अवसान

logo
मनोज कँडेल,
प्रकाशित २०७७ पुष २७ सोमबार
manoj-kumar-kandel.jpg

झण्डै दुई तिहाइ जनादेश सहित प्रधानमन्त्री भएका केपी ओलीले जनतासँग गरेकोको स्थिर सरकारको बाचा तोड्दै आफ्नै सहकर्मीहरुसँग सिंगुरी खेल्दै सडकमा ओर्लेर जनताको नयाँ म्यान्डेटको खोक्रो गफ सुन्दा लाग्छ देश, जनता, गणतन्त्रले हार्न अब केही बाँकी छैन । प्रधानमन्त्रीको यो नियति उनको राजनीतिक अवसानको पहिलो खुड्किलो हुने प्रष्ट देखिदै गएको छ । 

हुनत प्रधानमन्त्रीको भाषण, कथा र उखान टुक्काहरु सुन्दा पक्कै मजा आउछ नै । आम कार्यकर्ता र जनताले रमाइलो मान्छन, ताली पिट्छन । आफ्नै सहधर्मीहरुको मजाक, कटु आलोचना सुन्दा ताली पिटिरहेका निरीह कार्यकर्ताहरुले कति बुझेकाछन कुन्नी ? उनको यहि कटाक्ष उनको अवसानको दोश्रो खुड्किलो हुनेछ । 

जब परिबारका आफ्नै सदस्यको मुत्यु हुन्छ, नचाहँदा नचाहँदै पनि परिवारका बाँकी सदस्यहरु मृत शरिरलाई जलाउन हतार गरिरहेका हुन्छन् । उनीहरुको त्यसमा कुनै पनि रोकावट हुदैन । स्वीकारोक्ती हुन्छ । अहिले ओलीको अवस्था यो भन्दा फरक देखिदैन । यो ओलीको विरासत र नेपालको राजनीतिमा जवर्जस्त खडा भएको एक राष्ट्रवादी पात्रको मृत्युको परिघटना हुनेछ । 

यो राजनीतिक पात्रको अन्त्यसँगै एक समुन्नत, सुसभ्य र स्वाधिन नेपाल राष्ट्र देख्न चाहने आम नेपालीको पनि उत्साह, आशा र विधमान शासन पद्धति र राजनीतिक पात्रहरुको भरोसा माथि पनि तुषारापात हुने देखिन्छ । हुनत नयाँ उत्पती हुँदा अवस्य पनि पुरानो विज कुहिन्छ यो एक प्राकृतीक नियम हो ।

प्रधानमन्त्रीको अर्को अवसानको खुड्किलो उनलाई बचाउने उनले विश्वास गरेका भित्रका मित्रहरुको भन्दा पनि बाहिरका बैरीहरुको भर हो । उनी सायद सत्ता, शक्तीको नशामा धृतराष्ट र दुर्योेधन जसरी लठ्ठीएका छन् । जब श्रीकृष्णले अन्तिममा दुर्योधनलाई सोधेका थिए “निशस्त्र श्रीकृष्ण अथवा सशस्त्र सेना” । दुर्योधनले हासेर निशस्त्र श्रीकृष्ण 'सत्य' लाई अस्वीकार गरेर उनका अक्षुहिणी सेना लिएका थिए । 

हो आज सत्यको यो उपहास प्रधानमन्त्रीको अवसानको अर्को खुडकिलो यसकारण हुनेछ की सत्ता, शक्ति भन्दा माथि सत्य हुनेछ । भलै सत्यको जीत कठिन देखिन्छ तर अन्तत जित त सत्यकै हुने हो । जब लामो यात्राका सहकर्मीहरु नै असहमतीका साथ बाटो परिवर्तन गर्दछन तब छुट्रिटएको दुई बाटो मध्ये एकबाटोबाट अवश्य पनि गन्तव्य पुग्नै सकिदैन । यहाँ एक पक्षको हार त अपरिहार्य नै हो । जहिल्यै पनि भित्रका मित्र नै दुखमा साथ हुनेछन् बाहिरका वैरीहरु त निसानाको लागि उचित मौका कुरेर बसिरहेका हुन्छन् । 

ओलीको संसद विघटन कुनै कोणबाट पनि नत ओलीको पक्षमा देखिन्छ नत राष्ट्रको । भलै ओलीको आठ दश महिनाको कार्यकाल संसद विघटनलाई सर्वोच्चले बदर नगरेको अवस्थामा लम्बिएला तर अन्ततः उनको यो विरासत र उनको महात्वकाँक्षा छिट्टै अन्त्य हुनेछ । 

दुखको कुरा यहाँ उनको विरासतकोमात्र होइन उनीसगै जवर्जस्त खडा गरिएको उनको राष्ट्रवादको एउटा रुपको अन्त्य हुनेछ र नेपाल उत्तर दक्षिणदेखी पश्चिमसम्मको फुटवलको मैदानमा परिवर्तन हुनेछ । जुन घटनाक्रमहरु नेपालको राजनीतिमा हामी देखीरहेका छौ । संसद विघटन अथवा नेकपा जुट, फुट वा धेरै अन्य परिघटनाहरुलाई कुनै पार्टी, नेता तथा नेपाल र नेपालीको जित वा हारको रुपमा नभएर उत्तरको, दक्षिणको र पश्चिमको जित वा हार भनेर टिकाटिम्पणी भइरहेबाट स्पष्ट भएको छ  । 

प्रधानमन्त्रीको संसद विघटन उनको आफ्नै छायाँसँगको डर थियो । उनले छाँया हटाउन बत्ती अर्थात संसद निभाए । लाग्दो हो उनलाई अब त्यहाँ छायाँ छैन तर वास्तवमा जब छाँयाको डरले बत्तीहरु निभाइन्छ त्यहाँ छायाँ होईन बत्तिमात्र निभेको हुन्छ तर अध्यारो होस वा उज्यालो छाँयाले कहिले पनि व्यक्तीलाई छाडेको हुने छैन । हो प्रधानमन्त्रीको त्यो डरको छायाँ संसद विघटनले हटेको कदापि छैन । उनले त्यसको सामना दुबै अवस्थामा गर्नु पर्नेछ ।

पहिलो, संसद विघटन सर्वोच्चले सदर नगरेको अबस्था । यो बदर उनको विरासतको अन्त्यको सबभन्दा भयानक रुप हुनेछ । तर यो भयानक अवस्था नआउला भन्न सकिने अवस्था भने छैन । यो देशमा कहि कतै कानूनी सर्वोच्चता, संवैधानिकता, निष्पक्षता, नैतिकता, विवेक र आर्दशहरुको कुनै झिल्को बाँकीरहेको अवस्थामा पक्कै पनि संसद पुर्नस्थापना हुनेछ ।

संसद पुर्नस्थापना ओलीको विरासतको अन्त्य र प्रचण्ड युगको शूरुवात हुनेछ । जसले प्रधानमन्त्रीको अपमान मात्र होइन उनलाई एक खलनायकको रुपमा नेपालको इतिहासमा अंकिंत गर्नेछ । उनलाई प्रधानमन्त्री र नेकपा अध्यक्षबाट हटाइनेछ । उनको थुप्रै सपनाहरु जो वास्तवमा देशले आत्मसाथ गर्नुपर्ने देखिन्छन् स्वत मुल्यहिन र एकादेशमा एक हाँस्य प्रधानमन्त्रीको सपनाको रुपमा अंकित हुनेछ । 

दोश्रो, संसद विघटनको कानुनी मान्यता प्राप्त हुनु । हुनत यसलाई आमरुपमा प्रधानमन्त्रीको विजय मानिनेछ । यो निर्णयसँगै हजारौ कार्यकर्ताहरु सडकमा जितको विगुल फुक्दै विजय जुलुस निकाल्नेछन् र त्यही जुलुसमा जितको उत्मादमा प्रधानमन्त्रीको त्यही उखान टुक्का सहितको कटाक्षपूर्ण कमेडियन भाषण सुनिनेछ नै । तर यि सबै उत्साह, विजयको रौनक तब एक इतिहास हुनेछ जब चुनाबमा प्रधानमन्त्रीले नेतृत्व गर्नु भएको पाटी दुई तिहाईको हाराहारीबाट झरेर सानो पाटीमा परिणत हुनेछ । यो अवस्था प्रिय हुने कुरा नै भएन । कम्तीमा उनले कुनै एक पद छोडेर मित्रहरुलाई भर गरेको भएको भए पक्कै सशक्त पार्टीको अध्यक्ष भएर रहन पाउथे । 

यसर्थ संसद विघटन आफैमा प्रधानमन्त्रीको अवसानको दिनगन्ती हो । जताबाट गन्दा पनि प्रधानमन्त्रीको पक्षमा आउने अवस्था देखिदैन । देशले दुई तिहाइको प्रधानमन्त्रीबाट भएको सत्ता रजगजको एकलौटी मोह कसरी सत्ताको अन्त्यसम्म पुग्यो भन्ने एक पूर्ण शिक्षा आउँदो पाँच सात महिनामा देख्नेछ । 



नयाँ