arrow

नेकपा ब्युँताउने प्रचण्ड र माधवको प्रयासमा बाझियो स्वार्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
prachanda-madhav-laddo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा ब्युँताउने प्रयास गरे पनि एक अर्कासँग स्वार्थ बाझिएको छ । 

उनीहरु दुवैले आफूहरु बलियो हुनका लागि नेकपा ब्युँताउने वा समाजवादी केन्द्र बनाउने प्रस्ताव गरे पनि स्वार्थ बाझिएपछि अलमलमा परेको हो । संसदमा नेकपा माओवादी र नेकपा एस मिल्दा ४४ सिट हुने र जुनसुकै बेला सरकार बनाउन महत्वपूर्ण भूमिका हुने भएकाले नेकपा ब्युँताउन खोजिए पनि त्यसमा माओवादी बलियो हुनेगरी प्रस्ताव आएपछि एस पार्टी झस्किएको छ । 

तत्कालीन समयमा नेकपा एसका अध्यक्ष माधव नेपालले आफू राष्ट्रपति बन्न नेकपा ब्युँताउनु पर्ने पक्षमा उभिएका थिए । तर माओवादीले तत्काल सम्भव नदेखेका कारण एसका अध्यक्षले कांग्रेसलाई समर्थन गरेर जानुको विकल्प नभएको बताएका थिए । 

जसका कारण प्रधानमन्त्री प्रचण्डको इच्छामा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएपछि नेकपा ब्युँताउने कुरा सेलाएको थियो । अहिले फेरि यसलाई चर्चामा ल्याइएको छ ।  दुई पार्टीको एकीकरण मात्रै होइन अहिले रहेका साना–ठूला वामपन्थी दलहरूसमेत मिलाउने उनीहरूको प्रयास रहेको छ । 

उनीहरूले शुरुमा समाजवादी केन्द्र बनाउने र त्यसमा बाबुराम भट्टराई समूह र जनता समाजवादी पार्टीलाई पनि मिलाउने र संसदमा ५४ सिट बनाउने तयारी भएको भए पनि नेकपा माओवादीनै त्यसको नेता बन्ने भएपछि एस पार्टीका नेताहरुले माओवादीको शाखा कार्यालय जस्तो नबन्ने भन्दै विरोध गरेका छन् । 

माओवादी केन्द्र, नेकपा एस तथा जसपा मिलाउँदा ५४ सिट हुने भएपछि उपनिर्वाचनपछि लगत्तै यसले मूर्तरूप दिने स्रोतको दाबी थियो । तर उपनिर्वाचनमा आएको परिणामले उनीहरु आपसमा सहमति गरेर पार्टी एकीकरणको दिशामा लाग्ने कि भन्नेतर्फ सोचिरहेको तर नेताहरुले यसलाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गरिरहेको माओवादीका एक नेताले भने ।  

अहिले सरकारमा सबैभन्दा ठूलो दल कांग्रेस रहेको छ । कांग्रेसको ८९ सिट भए पनि सरकारको नेतृत्व भने माओवादीले गरिरहेको छ । यही क्रममा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आइतबार नेकपा पुनर्जीवित गराउन लागिपर्ने बताएका थिए । बाबुराम भट्टराईले समाजवादी मोर्चा बनाउनुपर्छ भनेर लागिरहेका बेला प्रचण्डले नेकपा ब्युँताउने बताएका हुन् ।

भट्टराईले माओवादी र नेकपा एससँग समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेपछि आइतबार दिउँसो प्रचण्ड र नेपालले नेकपा ब्युँताउने बताएका हुन् । यसअघि राष्ट्रपतिको निर्वाचनको बेला नेकपा एसका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट हुँदा उनले नेकपा ब्युँँताउनुपर्ने प्रस्ताव गर्दा ओलीले मानेका थिएनन् । 

तर उनीहरुले यतिबेला नेकपा नै किन ब्युँताउनु पर्ने भन्दै ठोस कारण भने दिन सकेका छैनन् । यतिबेला उनीहरू ओलीलाईसमेत मनाएर नेकपा ब्युँताउने प्रयास गर्ने बताए पनि एमाले अध्यक्ष त्यसमा सहमत हुने सम्भावना निकै कम रहेको छ । 

आइतबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनता र राष्ट्रको आवश्यकता सम्बोधन गर्न सकिने बताउँदै नेकपा ब्युँताउने विषयमा छलफल चलिरहेको बताएर थप तरंगित पारेका थिए ।

प्रचण्डले नेकपालाई पुनस्र्थापित गर्न बिना पूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यकता बताउँदै नेकपा एमालेलाई पनि त्यसमा सहभागी हुनुपर्ने संकेत गरेका थिए । ‘कम्युनिष्ट आन्दोलन, वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो भन्ने होइन । फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टहरूलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु रहनुपर्छ’, प्रचण्डले भनेका थिए । 

तर भट्टराई र नेपालले भने समाजवादी मोर्चामा जोडदिए । त्यहीँनेर उनीहरुको कुरा बाझिएको थियो । २०७४ को निर्वाचनमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ३ जेठ २०७५ मा पार्टी एकता गरेर नेकपा बनाएका थिए । 

तर एकीकृत पार्टी तीन वर्षमै विभाजन मात्र भएन कम्युनिष्ट पार्टीका नेताहरुबीच ठूलो दरार पनि आयो । नेकपा फुटेर एमाले र माओवादी केन्द्र ब्युँतिएको दुई वर्षपछि पुनः नेकपाको बहस शुरु भए पनि आपसमा स्वार्थ बाझिएकाले यसले पनि मूर्त रुप लिने संभावना निकै कम रहेको छ । 

तत्कालीन नेकपा विभाजनको डिलैमा थियो । तर विभाजनको कारण भने २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसला बन्न पुग्यो । अर्कै पार्टीको नाममा दर्ता भएको भन्दै नेकपालाई मान्यता नदिइ पुनः दर्ता गर्न भनेपछि एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्केका थिए । अहिले उनीहरु आ–आफ्नो पार्टीको तर्फबाट राजनीति गरिरहेका छन् । माधव नेपालले भने एमालेबाट विभाजित भएर छुट्टै दल खोलेका छन् । 

आइतबारको कार्यक्रममा ‘कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरू अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन् हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ,’ प्रचण्डले भनेका थिए । उनले माधव नेपाल र आफूले यो विषयमा छलफल गरिरहेको समेत खुलसा गरेका थिए । ‘अहिले कमरेड माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल भइरहेको छ, हामी नेकपातिर फर्कनु पर्दछ, कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई चावी हो भन्ने गरिन्छ, नेतृत्वले गलत विचार र प्रवृत्ति अंगिकार ग-यो भने धेरै ठूलो क्षति हुन्छ ठूलो प्रतिक्रान्ति हुन्छ,’ उनले त्यसक्रममा भनेका थिए । तर माधव नेपालले यसलाई खण्डन नगरे पनि घुमाउरो बाटोबाट समाजवादी केन्द्रमा जोड दिएर कार्यक्रम टुंग्याएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ