arrow

राष्ट्रिय सभा उपाध्यक्षमा को ? एमाले र नेकपा एसबीच बखेडा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
oli-madhav-new-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पार्टी नै मिलाउने रणनीतिमा रहेको नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीलाई राष्ट्रिय सभाको उपाध्यक्ष छाड्न आनाकानी गरिरहेको छ । 

एमालेले सरकारमा महत्वपूर्ण मन्त्रालय नलिई नेपाली कांग्रेससँगको गठबन्धन फुटाएर आफू सहभागी भए पनि राष्ट्रिय सभाको उपाध्यक्षमा भने दाबी कायमै राखेको छ । 

यद्यपि पछिल्लो सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष कसले लिने भन्नेमा द्विविधा कायमै छ । सत्ता गठबन्धन दल राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । 

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गरे पनि एमालेसँग माओवादी केन्द्र र नेकपा एसले छलफल गरेका छैनन् । 

राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएको एमालेका नेताहरुले दाबी गर्दै आएका छन् । 

सोहीअनुसार माओवादीबाट उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइसकेपछि एमालेले पाउनु पर्ने नेताहरुको धारणा छ । 

एमालेले सार्वजनिक रूपमा केही बताएको छैन । एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्ने गरी भएको ७ बुँदे सहमतिमा भने यो विषय उल्लेख नभएकाले अन्योलता कायमै रहेको बताइएको छ । 

‘अध्यक्ष  माओवादीले लिएपछि उपाध्यक्ष एमालेले लिन सहमति थियो तर एमाले अहिलेसम्म मौन रहेकाले गठबन्धन टिकाउनका लागि नेकपा एसले सो पद लिने गरी छलफल अघि बढाइएको छ’, नेकपा एसका नेता ज्वालाले भने ।

एमालेका नेताहरुले राष्ट्रिय सभाको उपाध्यक्ष पदबारे अहिले नै छलफल भैनसकेको बताएका छन् । 

‘अहिले छलफल भएको छैन, केही दिनमा छलफल होला, कसले के लिने भन्ने बारेमा त्यति ठूलो रस्साकस्सी छैन, एमाले आफ्नो मिसनमा छ त्यो भनेको मिसन ८४ नै हो’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

राष्ट्रिय सभा उपाध्यक्षबाट उर्मिला अर्यालले राजीनामा दिएसँगै रिक्त भएको सो पदमा को उपाध्यक्ष हुन्छ भनेर अहिलेसम्म आँकलन गर्न मुस्किल परेको छ । 

२१ फागुनमा सत्ता गठबन्धनमा परिवर्तन भएपछि बनेको नयाँ गठबन्धनको पहिलो सहमतिपत्रमा अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति भएको उल्लेख थियो । 

तर पछि नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनमा भएको दोस्रो सहमतिपत्रमा सो बुँदा हटाइयो । त्यससँगै नेकपा एसको मनोबल बढेको छ तर एमालेसँग छलफल चाहिँ भएको छैन ।

सहमतिअनुसार माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल अध्यक्ष भइसकेका छन् । अब उपाध्यक्षका लागि दलहरूबीच छलफल हुने बताइए पनि एमाले यतिबेला जिल्ला सम्मेलनको चटारोमा लागेको छ । 

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा उपाध्यक्ष कुन पार्टीले पाउने भन्ने विषय नटुंगिएको बताएका छन् । 

‘उपाध्यक्ष नेकपा एसले पाउने भन्ने सहमति भइसकेको छैन । यसमा हाम्रो दाबी छ । तर एउटा पदका लागिमात्र नभएर अन्य संवैधानिक नियुक्तिहरूसहित प्याकेजमा सहमति हुनुपर्छ, प्रदेशमा पनि हाम्रो दावी कायमै छ’, खतिवडाले भने ।  

अध्यक्ष पुरुष भएकाले उपाध्यक्ष अनिवार्य महिला नै हुनुपर्ने अवस्था छ । यदि नेकपा एसले उपाध्यक्ष भाग पाएका जयन्ती राई वा गरिमा शाह यसको प्रमुख दाबेदार हुन्  । 

तर दलहरूबीच भागबण्डा नटुंगिएकाले अहिले नै उपाध्यक्षको को हुन्छ भन्ने यकिन हुन सकेको छैन । उता एमालेबाट तुलसा दाहाल र बिमला घिमिरेमध्ये एकलाई बनाउन सक्ने सम्भावना रहेको छ । 

तर यो विषयमा छलफल नभएकाले एमालेहरु मौन रहेका छन् । राष्ट्रिय सभामा सत्तारुढ दल माओवादी १८ सांसदसहित पहिलो दल छ । 

यस्तै १६ सांसद रहेको कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, ८ सांसदसहित एकीकृत समाजवादी चौथो र ३ सांसद भएको जसपा पाँचौँ दल हो । राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भए पनि चुनावको मिति भने तय गरिएको छैन । 

राष्ट्रिय सभा नियमावली, २०७५ अनुसार, रिक्त रहेको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्छ । 

यस हिसाबले चैतभित्रै नयाँ उपाध्यक्ष चयन गरिसक्नुपर्नेछ । जसअनुसार दलहरुले एक साताभित्रै आपसमा सहमति गरेर एक महिला नेतृलाई उम्मेदवार बनाउनुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ