arrow

कार्यकर्ता भर्ती गर्न लिष्ट बनाउँदै वनमन्त्री आले, कोषमा जिल्लिए 

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
prem-ale.jpg

काठमाडौं । अरुलाई के धन्दा घर ज्वाँईलाई खानकै धन्दा भने झै नवनियुक्त वनमन्त्री प्रेम आलेको पहिलो ध्यान वन मन्त्रालयमा कार्यकर्ता भर्तीमा केन्द्रीत भएको पाइएको छ । मन्त्रालय स्रोत भन्छ, आफ्नो मान्छे नियुक्त गर्न आलले सूचि समेत तयार गरिसकेका छन् । 

राष्ट्रिय प्रकृति संरक्षण कोषमा भने उनलाई अप्ठयारो परेको छ । तत्कालिन वन मन्त्री शक्ति बस्नेतले राजिनामा गर्नु भन्दा एक दिन अघि मात्र सदस्य सचिव पदमा शरदचन्द्र अधिकारीलाई नियुक्त गरेपछि त्यहाँ भने उनी जिल्लिएका छन् । स्रोत भन्छ, अधिकारीलाई नियुक्त गर्न वन मन्त्री बस्नेतले आफैले पहल गरेका थिए । अधिकारीको नियुक्तमा नयाँ मन्त्री आले सन्तुष्ट छैनन् । उनको नियुक्त उल्ट्याउन आलेले कानुनी सल्लाह समेत गरेको स्रोतको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा विगत साढे दुई वर्ष देखि राजनीतिक नियुक्त हुन सकेको थिएन । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले तीन वटा संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मेवारी लिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनासुलु संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मेवारी यसले लिएको छ । कानुन अनुसार कोषको सरंक्षक प्रधानमन्त्री र अध्यक्ष मन्त्री हुने व्यवस्था छ । वनमन्त्रीबाट कोषको सदस्य सचिव नियुक्त गरिने कानुनमा व्यवस्था छ ।

अहिले वन निगम र वन निकुञ्ज पनि खाली छ । यसैगरी राष्ट्रिय ताल संरक्षण विकास समिति, वन पैदावार विकास समिति लगायतका महत्वपूर्ण निकायहरूमा कार्यकारी पद खाली छ । तत्कालिन वन मन्त्री बस्नेतले मन्त्रालय मातहतका निकायमा राजनीतिक नियुक्त गर्न नसक्दा मन्त्रालयकै केही उच्च कर्मचारीहरूले दोहोरो जिम्मेवारी लिएका छन् । 

कानुन अनुसार मन्त्रीबाट नियक्त पदाधिकारीहरुले गर्नुपर्ने कार्यसम्पादन समेत मन्त्रालयकै कर्मचारीहरूले गर्ने गरेका छन् । वन मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले अहिले दोहारो जिम्मेवारी लिएका छन् । पौडेल अहिले प्रमुख कार्यकारी अधिकृतको पदमा वन निगममा कार्यरत छन् । निगममा गए पनि उनले वन मन्त्रालय छाडेका छैनन्। तलब भत्ता मन्त्रालयमा भन्दा निगममा बढी हुने भएकोले निगमबाटै बुझ्ने गरेका छन् । 

यसैगरी वन निकुञ्जमा बेदकुमार ढकालले निमित्त भइ काम चलाएका छन् । वन निकुञ्जका तत्कालिन महानिर्देशक प्रेमनारायण कँडेल सचिव पदमा बढुवा भए पछि निकुञ्जमा महानिर्देशक पद खाली छ । खाली पदमा ढकालले काम चलाएका हुन् ।

यसैगरी वन पैदावार विकास समितिम कार्यकारी पद लामो समयदेखि खाली छ । उक्त पदमा मन्त्रालयका सहसचिव तथा सहभागितमूलक वन महाशाखा प्रमुख विन्दु मिश्रलाई जिम्मेवारी दिइएको छ । ताल संरक्षण विकास समितिमा वन मन्त्रालयले मन्त्रालयका राजु सापकोटालाई जिम्मेवारी दिएको छ । सापकोटाले अहिले दोहरो जिम्मेवारी लिएका छन् । उनी मन्त्रालयका उपसचिव पनि हुन् । सापकोटाले मन्त्रालयमा पनि कार्यरत छन्

यसैगरी राष्ट्रपति चुरे संरक्षण विकास समितिमा पनि एक जना सदस्य पद खाली छ। राष्ट्रपति चुरे संरक्षण समितिका एक सदस्यले राजिनामा गरेपछि उक्त समितिमा एक पद खाली भएको हो ।

मन्त्रालय स्रोतको अनुसार नयाँ मन्त्री आले जतिसक्दो चाँडो खाली पदमा राजनीतिक नियुक्त गर्ने गृहकार्यमा जुटेका छन्। स्रोत भन्छ, खाली पदमा नेपाल कम्युनिस्ट पार्टी (ओली पक्ष) समर्थक आफना कार्यकर्ता नियुक्त गर्ने तयारीमा उनी जुटेका हुन् । संसद विघटन सम्बन्धि मुद्धामा अदालतको फैसला आउनुअघी नै सबै नियुक्ती गराउने गरि आलेको गृहकार्य रहेको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ