- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। १२ जनवरी १८६३ को कलकत्तामा जन्मिएका स्वामी विवेकानन्दको मंगलबार जन्मजयन्ती हो । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा जन्मेका उनी विवेकानन्द भन्दा पहिले नरेन्द्रनाथ दत्त भनेर चिनिन्थे।
स्वामी विवेकानन्द एक महान् आत्मा तथा कर्मयोगी सन्त थिए । उनी आमाको इश्वरभक्तिबाट प्रभावित थिए । आफ्नी आमा ध्यान गरेको देखेर उनी पनि ध्यान गर्दथे । उनमा सानैदेखी इश्वरप्रति आस्था रहे पनि इश्वरको वास्तविक स्वरुप कस्तो हुन्छ, उनीसँग साक्षात्कार गर्न सकिन्छ वा सकिदैन भन्ने विषयमा उनी चिन्तनशील रहन्थे । इश्वर भए त देख्नुपर्ने उनको सोचाई थियो । उनले गुरु स्वमी रामकृष्ण परमहंसबाट तत्वको ज्ञान पाएर इश्वरसँग साक्षत्कार गरेका थिए ।
एक पटक एक मानिस उनको चरणमा परेर सोधे- म कडा मेहनत गरेपनि किन सफलता मिल्न सकेन। यसमा बिषयमा बोल्नु पहिले विवेकानन्दले भने- 'तपाईले आफ्नो कुकुरलाई घुमाएर ल्याउनु होस , त्यसपछि म यस प्रश्नको उत्तर दिनेछु।'
यो सुनेर त्यो व्यक्ति त्यहाँबाट गए। केहि समय पछि जब ती व्यक्ति फर्किए, उनको कुकुर ठुलठुलो स्वास लिदै थियो ।
यसमा,विवेकानन्दले सोधे - 'यति धेरै थाकेको महसुस गर्दैछ जबकि तपाई बिल्कुल ठीक हुनुहुन्छ ?'
ती व्यक्तिले भने- 'म सिधा बाटोमा हिड्दै थिएँ यो यता उता कुदि रहेको थियो ।'
स्वामीले भने- 'यही तपाईको प्रश्नको उत्तर हो। जब तपाईं आफ्नो लक्ष्य तय गर्नुहुन्छ र यसमा सीधा अगाडि बढ्नुहुन्छ भने सफलता प्राप्त हुनेछ । अन्यथा यसबाट थकान मात्र मिल्नेछ।'
आफ्ना गुरु स्वमी रामकृष्ण परमहंसको देहावसानपछि गुरुको संकल्प साकार पार्न धर्म प्रचार गरी सामाजिक उत्थान गर्ने उद्येश्यले करिब साढे ३ वर्षसम्म उनले भारतकै यात्रा गरे । उनलाई राजस्थानका महाराजा अजीत सिंहले विवेकानन्दको नाम दिएका थिए। अमेरिका पठाउनको श्रेय पनि महाराजा अजीत सिंहलाई जान्छ । महाराजा अजीत सिंहले उनलाई आफ्नो गुरु मानेका थिए।
स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए र विभिन्न ठाउँमा भाषण दिइरहेका थिए, एक महिला यसबाट धेरै प्रभावित भइन्। भाषण सुनेपछि प्रभावित महिला आईन् उनी विवाह गर्न चाहेको कुरा राखिन् । जसबाट उनीको पनि विवेकानन्द जस्तै प्रतिभाशाली छोरा होस् । महिलाको कुरा सुनेपछि विवेकानन्दले भने उनी एक सन्यासी हुन् र यसकारण उनी विवाह बन्धनमा बाधिन सक्दैनन्। तसर्थ, उनी आफ्नो छोरा बनाएर स्वीकार गर्न सक्नेछिन् । त्यसो गर्नाले न त उनको सन्यास तोडिनेछ र महिलाले पुत्र पनि हासिल गर्नेछिन् ।
यो सुनेर, ती महिलाको आँखाबाट आँसु खस्यो । उनी विवेकानन्दको चरणमा परिन् र भनिन् - 'तपाई धन्य हुनुहुन्छ। तपाईं ईश्वरको रूप हुनुहुन्छ जो कुनै नराम्रो समयमा पनि विचलित हुँदैन।'
मुलुकमा व्यापक आध्यात्मिक क्रान्तिको महसुस गरी आफ्नो जीवनलार्य समर्पित गर्न विवेकानन्दले अमेरिकाको सिकागो सहरमा सन् १८९३ मा भएको विश्वधर्म सम्मेलनमा अध्यात्म दर्शनका गहन तथा सारभुत कुरालाई अत्यन्त प्रभावकारी ढङ्गमा प्रस्तुत गरे । शिकागोमा उनले दिएको भाषणले उनको परिचय अमर भयो । उनले विश्वभरका मानिसहरुलाई दाजुभाईका रुपमा देखे । अमेरिकामा पुगेर उनले मेरा अमेरिकन दाजुभाइ तथा दिदिबहिनीहरु भनेर सम्बोधन गरे । त्यसले उनको आत्मा उन्नतिको अवस्थालाई झाल्काएको थियो भने एक सन्यासीमा चेतनाको कति विकास हुदो रहेछ त्यसको परिचय दिएको थियो ।
शिकागोमा भएको विश्व धर्म सम्मेलनको सम्पूर्ण खर्च महाराजा अजीत सिंहले व्यहोरेका थिए । शिकागोमा उनको भाषण पछि अमेरिकी मिडियाले उनलाई साइक्लोन हिन्दू नाम दिएको थियो । त्यसपछि बेलायत र फ्रान्समा समेत गएर धार्मिक प्रवचन दिए । उनले अमेरिकामा हिन्दुधर्म र दर्शनको प्रचार गर्ने केन्द्रको समेत स्थापना गरे ।
एक समय स्वामी विवेकानन्द प्रवचन गरिरहेका थिए । एउटा मानिसले उनलाई प्रश्न गरे-'स्वामी ज्यू ! मैले यस्तो पढेको थिएँ - तपाईंको देशमा भगवान कृष्णले जब बालक रूपमा लीला गर्नु हुन्थ्यो । त्यस समय सबै ग्वाला र गोपिनीहरू उहाँको पछि-पछि लाग्थे। यो कसरी सम्भव हुनसक्छ कि एकजना व्यक्तिको पछाडि यत्रो जनसमूह एकत्रित भएर पछि लागोस्?'
यस विषयमा धेरै प्रमाण र तर्क नदिइ विवेकानन्दले भने, तपाईंको प्रश्नको उत्तर तपाईंलाई अवश्य मिल्नेछ।' प्रवचन हुँदै गयो र श्रोताहरूले उनको विचार मन्त्र-मुग्ध भएर सुनिरहेका थिए, अचानक स्वामी विवेकानन्द आफ्नो प्रवचन समाप्त गरेर मंचबाट उत्रेर जान लागे।
जब मानिसहरूले आफूलाई प्रवचन सुनाएर मन्त्र-मुग्ध गर्ने व्यक्तिलाई यसरी जाँदै गरेको देखे, तब सारा जनता उनको पछिपछि जान लागे । केही टाढा पुगेपछि विवेकानन्दले ध्यानसँग भीडमा हेरे, भीडमा ती व्यक्ति पनि थिए जसले उनलाई प्रश्न गरेका थिए। विवेकानन्दले त्यस व्यक्तिलाई बोलाएर भने-'महाशय! तपाईहरू सबै मेरो पछि किन आउनुभयो।'
सबैले भन्न लागे-'स्वामी ज्यू, हजुरले हाम्रो मन यति मुग्ध गरिदिनुभयो कि हामी हजुरलाई छोडन सक्दैनौं। हजुरले यति राम्रो कुरा हामीलाई सनाउन भयो, हामीलाई मन्त्र-मुग्ध पार्नुभयो, यसकारण हामी तपाईंसँगै पछि-पछि आईरहेका छौं।'
तब विवेकानन्दले भने-'महाशयजी, यही तपाईंको प्रश्नको उत्तर हो। जसरी तपाईंहरू मेरो पछाडि लाग्नु भयो त्यसरी नै ग्वाला, गोपिनीहरू पनि भगवान कृष्णको पछाडि लाग्थे।'