- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा मंगलबार परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले मंगलबार पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो । परीक्षण उडान एच९ ९६ज्ढ ढट ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७:१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । उक्त जहाज मंगलबारै अपराह्न १४ बजे अवतरण हुनेछ ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । यहाँ विश्वभरबाट बर्सेनि उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न जान्छन् । मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ ।
एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दिले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउनेछन् ।
परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषत: माथिल्लो उचाइका लागि उडान भर्न नाममा दर्ता भएको नवीनतम् न्यारोबडी जहाज ए३१९ प्रयोगमा ल्याएको छ । एक सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ । यो जहाजले अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तो माथिल्लो उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । मंगलबारको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।”
सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय भएको बताए । उनले यस उडानले माथिल्लो उचाइका हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालना सुनिश्चित गर्नाका साथै सीमापार सम्बन्ध सुदृढ पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।