arrow

छिमेकी सहायताः भारतबाट कोरोना खोप, चीनबाट अघोषित नाकाबन्दी 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
Nepal-India-china-flag1.jpg

काठमाडौं । छिमेकी भनेका त्यस्ता हुन् जसले आपत्विपद्मा सघाउँछन् । अहिले विश्व आर्थिक मन्दीमा छ । कोरोना भाइरसको महामारीका कारण छट्पटीमा छ । महामारीबाट मुक्ति पाउन विश्वका कयौं धनी देशहरुले कोरोनाको खोप छिटोभन्दा छिटो लगाएर जनता जोगाउन चाहन्छन् । उनीहरुले महंगोमा किन्नसमेत सकिरहेका छैनन् । 

अहिलेको सबैभन्दा ठूलो शत्रु कोही छ भने त्यो कोरोना भाइरस नै भएको छ । यस्तो बेलामा भारतले नेपाललाई बिहीबार १० लाख डोज खोप अनुदानमा दिएको छ । यो खोप दिएर भारतले नेपालसँगको सदियौंदेखि चल्दै आएको सम्बन्धलाई अझ बढी उचाईमा पुर्याउन मद्धत गरेको छ । नेपालको भारतसँग रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । 

त्यो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समय संसद बैठकमै ‘इन्डियन कोरोना’ भनी नाम दिए पनि भारतले ओलीको त्यो मुख्र्याइँलाई भुलेर खुला दिलले भ्याक्सिन दिएर सघाएको विश्लेषण भइरहेको छ । 

चीनको वुहानबाट गत वर्षदेखि सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारेको छ । चीनले भने यसलाई नियन्त्रण गरेको छ । तर नेपालमा यसरी अप्रत्याशित तरिकाले कोरोना फैलँदा पनि चीनले नेपाललाई सघाउन खोजेन । 

चीनले नेपालमा ब्यापारमात्र गर्यो । स्वास्थ्य सामग्री नेपालले चीनबाटै किन्यो । केपी शर्मा ओलीको सरकारले अन्य देशले अस्वीकार गरेको सामानलाई चीनबाटै किन्यो । तर अन्य कुनै सहयोग चीनले गरेन । 

चीनले कम्युनिष्ट सरकारमात्र खोज्यो । आफ्नो व्यापारलाई दिगो बनाउन खोज्यो । नेकपाको फुटलाई जोड्न दौडधुप गर्ने चीनले नेपाललाई यो महामारीबाट मुक्त गर्न कुनै प्रयास चालेन । 

भारतले गरेको यो सहयोगपछि एकाएक चीनको प्रतिवद्धता बाहिर आउन थालेको छ । चीनले यतिबेला नेपालमाथि देखाएको व्यवहार बाहिर आउन थालेको छ । महामारीको नाममा सीमामा कडाइ गरेर चीनले नेपालमा अघोषित नाकाबन्दी गरेको छ । 

कम्युनिष्ट सरकार र कम्युष्टि पार्टीले चीनलाई गाली गर्नु हुन्न भन्ने अत्यन्त निकृष्ट मानसिकता राखेकै कारण चीनले अघोषित नाकाबन्दी गर्दासमेत पनि कम्युनिष्ट सरकार चुप बस्यो । यतिबेला चीनसँगको नाका ठप्पप्रायः छ । अघोषित नाकाबन्दीका कारण आयात निर्यात ठप्प छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । तर सरकारले कुनै कुटनीतिक पहल गरेको छैन । 

पार्टी फुट्नबाट जोगाउन चिनियाँ राजदूत कम्युनिष्ट नेताहरुका घरघरमा धाउँदासमेत नेताहरुले अलिकति पनि यसबारेमा सोच्न सकेनन् । चिनियाँ मन्त्री नै नेपाल भ्रमणमा आएर तीन दिन बस्दासमेत पनि सरकारले कुनै चासो राखेन । नेताहरुले पनि चासो राखेनन् । 

उपभोक्ताको कुरै छोडौं । चिनियाँ सामानको भाउ आकासिएको छ । कन्टेनर सीमामा थन्किँदा नेपाली व्यवसायी छट्पटिएका छन् । सरकारसँग पटक पटक आग्रह गरे पनि व्यवसायीका पीडा सुनिरहेको छैन । 

त्यसकै कारण स्टक सामानको भाउ पनि आकाशै छुने गरी बढिरहँदा समेत उपभोक्ता किन्न वाध्य छन् । केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । 

फेरि पछिल्लो समय ओली सरकार भारततिर ढल्केको बुझाइमा पनि चीनले थप कडाइ गरेको बुझिएको छ । चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्यामात्र परेको छैन व्यवसायी डुबेका छन् भने नागरिकले महंगो मूल्य तिर्नुपरिरहेको छ । 

भारतले २०७२ सालमा नाकाबन्दी लगाउँदा चीनले नेपाललाई हरेक चिज दिने बतायो । पेट्रोलियम पदार्थ पनि दिने बतायो । तर केही तेल अनुदान दिएर रोक्यो । 

भारतले त्यसपछि त्यो अवस्थालाई भुलेर निकै अगाडि बढेको छ । पुरानो सम्बन्ध फेरि प्रगाढ बनेको छ । सीमाको विवाद र नक्साको विवादलाई कोरोनासँग लडेपछि बसेर समाधान गर्ने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै बताइसकेका छन् । 

तर चीनको अघोषित नाकाबन्दीले नेपाललाई अर्बौंको आर्थिक नोक्सानी भइसकेको छ । चीनले नेपाली व्यापारीहरुलाई व्यापार गर्न तिब्बत भ्रमणमा समेत रोक लगाएको छ । 

चीनले नेपालमा रहेका आफ्ना कामदारलाई मात्र ख्याल गरेको चर्चा हुने गरेको छ । चीनले नेपालमा रहेका आफ्ना कामदारलाई कोरोनाको खोप दिएको चर्चा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र होङ्सी सिमेन्ट लगायतका विभिन्न परियोजनाहरुमा मिलेर काम गरिरहेको भए पनि त्यहाँका चिनियाँ कामदारलाईमात्र खोप दिएको बुझिन्छ । सँगसँगै काम गर्ने नेपाली कामलाई पूर्णरुपले बेवास्ता गरियो । 

त्यसो त कोरोनाविरुद्धको चिनियाँ खोप पनि कुनै प्रभावकारी नभएको दावी गरिएको छ । उसले बनाएको खोपको सफलता ५५.५५ प्रतिशत रहेको बताइन्छ । अन्य देशहरुले समेत पनि उसको खोप लिन स्वीकार गरिरहेका छैनन् । चीनको निकट मानिने टर्कीले समेत पनि उक्त खोप स्वीकार गरेको छैन । 

तर ओली सरकारले सुरुआतमा चीनबाटै खोप किन्ने बताइरहेको थियो । तर चीसँग कहाँनेर सहमति भएन अनि ओली फेरि भारतसँगै नजिक हुन थाले । 

ओलीको यो व्यवहारले गर्दा देशले दुःख पाएको निश्चित हो । त्यसैले पनि अहिले भारतले गरेको सहयोग ओलीका कारण नभएको सीधा जवाफ ओली मन्त्रिपरिषद्कै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भनेका छन् । 

उनले बिहीबार भारतीय राजदूत विनयमोहन क्वात्रामार्फत १० लाख डोज कोरोनाको खोप सहयोग लिँदै यो सहयोग जनताबीचको सम्बन्धका कारण मिलेको बताएका थिए । उनले कुनै व्यक्ति वा मन्त्रीका कारण यो सहयोग प्राप्त नभएको स्पष्ट पारेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ