arrow

प्रेस युनियन सुनसरीद्धारा ३ सय २७ सञ्चारकर्मीको ७ लाखको बिमा

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
Press-Union.jpg.jpeg.jpeg

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।

बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो,’ उनले भने, ‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उनीहरुको बिमा गर्न सकेनौँ ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरु समेटिएको बताए ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले भने दुर्घटना बिमा गरेको बताए । सम्झौता २ सय ६० जना सञ्चारकर्मीको बिमा गर्ने भएपनि कागजात माग गर्दा धेरै संख्यामा सञ्चारकर्मीहरुले आबेदन गरेपनि ३ सय १४ जनाको मात्रै बिमा  गरिएको अध्यक्ष अधिकारीले बताए । सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मीहरुले पैसा भने प्रेस युयियन सुुनसरीले तिरेको अधिकारीले बताए ।

‘हामीले यसअघि कोरोना बिमा गरिएको दुई सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’ उनले भने, ‘ती मध्य २२ जनाको एकलाखका दरले रकम आइसकेको छ ।’ उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैँया हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रुपैँयासम्म रकम पाउनेछन् । यसअघि युनियनले विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने पचास प्रतिसत छुटका लागि सम्झौता समेत गरेको उनले जानकारी दिए ।

प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले दुर्घटना बिमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए । उनले भने, ‘महासंघमा सबै अटाउन नसकिरहेको अवस्थामा युनियनले जिल्लाकै तीन सयको बिमा गरिनुले पत्रकारिताप्रतिको आकर्षण बढाएको छ ।’ उनले उक्त कामले सञ्चार क्षेत्रमा आबद्ध पत्रकारहरुमा सकारात्मक प्रभाव पर्ने बताए ।

प्रेस युनियन सुनसरीले प्रदेश १ का अध्यक्षहरुको पनि बिमा गरेको छ । सुनसरी अध्यक्ष अधिकारी सहित प्रदेश १ का १४ जिल्लाका अध्यक्षहरुको बिमा पनि गरिएको हो ब्यवस्थापन समिति संयोजक पोखरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ