arrow

हिराको प्रयोगशाला सञ्चालनमा ल्याइने

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
daimonds.jpg

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघले डायमण्ड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यता भएको भन्दै उक्त बाध्यताको अन्त्यका लागि आगामी तीन महिनाभित्र प्रयोगशाला सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।

सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले संघको कार्यालयमा रु ३५ लाख लागतमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिइन् । “गरगहना किन्दा व्यवसायी नठगिउन भन्नका लागि जेम ल्याब स्थापना गर्न लागेका हौँ”, उनले भनिन् । संघको पुस २५ मा काठमाडौँमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षसमेत रहेकी श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालमा व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका पहल गर्ने बताइन् ।

नेपाली मौलिक गरगहना निर्माणका लागि नेपाली कालिगढलाई सीपमूलक तालिम प्रदान गर्ने, नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको चौँथो संस्करण आयोजना गरिनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । व्यवसायीका लागि आवश्यक कर्जा, पुनःकर्जा तथा कर्जा पुनर्तालिकीकरणका लागि राष्ट्र बैंकसँग समन्वय गर्ने, रत्न तथा आभूषण संघलाई प्रदेशस्तरमा विस्तार गर्दै लैजाने संघले जनाएको छ ।

व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका लागि संघले पहल गर्ने बताइएको छ । संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले नेपालमा प्रत्येक दिन १० किलोग्राम मात्र सुन भित्रिने गरेको बताउँदै उक्त सुन नेपाली बजारका लागि कमी भएको उल्लेख गरे ।

नेपालका लागि प्रतिदिन ३५ देखि ४० किलोग्राम सुन आवश्यक रहेको उनको भनाइ थियो । नेपालमा हाल १५ देखि २० हजार व्यवसायीले सुन तथा हिराको व्यवसाय गर्दै आएका छन् । उक्त व्यवसायबाट देशभरका करीब छ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रतक्ष्यरुपमा रोजगारी प्राप्त गरेको संघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ