- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । आज शुक्रबारबाट हेटौंडामा 'भिडोल विजय यूथ हेटौंडा गोल्डकपु फुटबल प्रतियोगिता' सुरु हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए । उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुनेछ । यस्तै १७ गते वीरगञ्ज यूनाइटेड र हर्दी युवा समाज चितवन तथा वीरगञ्ज यूथ एकेडेमी र दुधौली स्पोर्टस् क्लब सिन्धुली खेल्नेछन् ।
'कोरोनाको कारण थला परेको खेलकुदलाई उठाउने जमर्को स्वरुप हामीले पहिलो पटक गोल्डकपको आयोजना गरेका हौं, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ', अध्यक्ष राजबाहकले भने ।प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाका १० समुहले सहभागिता जनाउने छन् ।
करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवाड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको हो ।