- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टुँडिखेलसँगै सैनिक मञ्चको पश्चिम र सैनिक अस्पतालको पूर्वमा रहेको मन्दिर हो महांकाल भैरव । शहरका रक्षकका रुपमा रहेका महांकाल भैरव संकटमोचकका रुपमा पनि प्रसिद्ध छन्। संकटमोचनका लागि श्रद्धालुहरु पूजा गर्न पुग्ने गन्तव्य हो, महांकाल । बाटैमा परेकाले पनि ओहोर–दोहोर गर्ने जो कोही त्यहाँ पुगेपछि श्रद्धाले शिर निहुराउँछन्, आफ्नो श्रद्धा प्रकट गर्छन। पूजाकै लागि भनेर शनिबार र मंगलबार बढी दर्शनार्थी आउँछन् । मंगलबार र शनिबारलाई बलियो बार भन्ने चलन पनि छ । सामान्य बुझाईमा पनि शनिबार मंगलबारका दिन भगवान भेटिन्छन् भन्ने मान्यता पनि छ ।
यहाँ सासो बज्रका तान्त्रिक पुर्खाले तन्त्रमन्त्र गरेर भगवान ल्याए भन्ने १२ सय उनान्सय वर्ष पूरानो एउटा कथन छ। पौराणिक कथा गजबको छ –‘सासो बज्र तान्त्रिक बाहिर बसिरहेका बेला आफ्नो टाउकोमाथि कालो वादलले घेरेको देखे । तर, त्यो बेला अन्यत्र घाम लागिरहेको थियो । यस्तो किन भयो भनेर ध्यान बस्दा रिसाएर बसेको महांकाल देखियो । र, आफ्ना दुश्मनलाई मारेर टाउकोको माला लगाएर फर्किरहेकै बेला तन्त्रले तानेर ल्याइएको हो ।’
महांकाललाई तल तानिसकेपछि पाउमा केतु राखियो । तिनै केतुले भगवान महांकालको भार थेगेको छ । महांकालको रिस थाम्न असउ बुद्ध आएर शिरमा बसेको कथन पनि छ । महांकालको शरीरमा आठ नाग छन् । जहाँ कुनै बेला नागको दर्शन गर्न पाईन्छ । नाग देवताको पुच्छर भने छैन । भगवान आउने ठाउँबाट नाग पस्ने गरेको बताउँछन् पूजारी दिपक हर्ष बज्राचार्य ।
महांकालको बारेमा कतिपयले अझ पुरानो किंवदन्ती सुनाउँछन् । द्वापरयुगमा भएको महाभारतको लडाँईमा तिव्वतबाट महाभारतको लडाँई हेर्न आकाशमार्गबाट गएका त्यहाँका राजा महांकाललाई काठमाडौंका तान्त्रिकहरुले आफ्नो तन्त्रको बलले तल झारी यहाँ राखिएको हो । आफूलाई यसरी राखिएपछि उनले तिव्वत जान आग्रह गर्दा दिउँसो गएर बेलुका आउनका लागि यहाँका तान्त्रिहरुले छुट दिएका थिए । यो छुट पाएपछि उनी दिउँसो आकाश मार्गबाट तिव्वत गएपनि राती भने फर्केर यहि ठाउँमा आउने गरेको किवंदन्ती पनि छ । त्यसैबेलादेखि उनी काठमाडौं शहरको रक्षकको रुपमा रहेको र उनको पूजा पनि हुन थालेको बताइन्छ। यसकारण पनि महांकालमा तिव्वतीहरु विशेष श्रद्धाका साथ पूजाआजा गर्ने गरेको एकथरीको मत छ।
महांकालप्रति विश्ष श्रद्धा राख्नेहरु आफ्नो नियमित काम गर्नुअघी उनलाई अनिवार्य सम्झन्छन्। उपत्यका छोडेर बाहिर जाँदा उनको दर्शन नगरि नजानेहरु पनि छन् । विदेशको यात्रामा निस्कनुअघी त महांकाल दर्शन अनिवार्य नै गरेर जानेहरु पनि कैयन पाइन्छन् । यस्तै मध्येकी हुन् आनी छोइङ डोल्मा । व्यवसायी तथा कांग्रेस नेता कर्मा घले पनि आफ्नो हरेक यात्राअघी महांकाल दर्शन गर्न छुटाउँदैनन् । उनी भन्छन, ‘बरु जहाज छुटोस महांकालको दर्शन नगरि म काठमाडौं छोडदिन् ।‘ आनी छोइङ पनि देश छोडेर विदेश जाँदा र विदेशबाट फर्किदा अनिवार्य नै महांकल जाने गरेको बताउँछिन् । हिन्दु र बौद्ध धर्मावलम्बी दुबैको आस्थाको केन्द्र महांकालमा उनीहरुले यसैंगरि विश्वास प्रकट गर्दै आएका छन् .
महांकालको दैनिक तीन पटक पूजा हुन्छ । एउटा हातमा पत्र छ । जसभित्र दर्शनार्थीले अण्डा र रक्सी पनि चडाउँछन् । असार महिनाको पूर्णिमाको तृतीयामा महांकाल उत्पति भएको मानिदै आएको छ । औंसी पछिको चतुर्थीमा विभिन्न जातिका मानिस आउँछन्, ठूलो पूजा हुन्छ। त्यो बेला भारतीय भक्तालु समेत उल्लेख्य रुपमा आउँछन् । उनीहरु महांकाललाई शनी देउताको रुपमा कालो वस्तु लगायते पुज्छन अनि चढाउँछन्। भारतीयहरु महांकाललाई उज्जयनबाट उडेर आएको देउता हो, भन्दछन् । यहाँ पूजा गर्न कसैलाई रोकटोक छैन । तिब्बतीहरुको आस्था पनि बिशेष छ। पूजारी बज्राचार्यका अनुसार मन्दिरको प्रचारमा तिब्बतीहरुको धेरै ठूलो योगदान छ । उनीहरुले खुब प्रचार गर्छन् । महांकालको शिरमा बुद्ध बसेको भनेर तिब्बतीहरुबाट यो मन्दिरमा वलि चढ्दैन । शिवजीको रुप पनि मान्दछन्, धेरैले । भूटानका राजपरिवारका सदस्यहरु पनि आएर बौद्ध परम्परा अनुसार पूजा गरेर जाने गर्छन् ।
अनेक रुपले महांकालको पूजा हुन्छ । अगाडि पञ्च कुमारी मन्दिरमा वलि दिने गरिएको छ । तन्त्रसाधना गर्ने मानिसले वलि दिएको पशुको टाउको लिएर आउथें, बज्राचार्य भन्छन्, ‘साधना गर्ने होम हाल्ने गर्थे तर अहिले टाउको ल्याउन पाउँदैनन् हामी अहिंसावादी हौं। ।’