arrow

तरुण दल अध्यक्ष केसीमाथि युवा संघको आक्रमणः घटना सार्वजनिक गरे बाबु-छोराको ज्यान लिने धम्की 

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
kul_b.kc-tarun_dal_.jpg

नेपालगन्ज । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्षसमेत रहेका ‘समिर’ भनिने सरोज विष्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विष्ट, सुनिल परियार, दिलीप डाँगी, ऋषिराज देवकोटासहित ८-९ जनाको समूहले आक्रमण गरेको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती पौने ११ बजेतिर आफूमाथि आक्रमण भएको केसीले बताएका छन्।

आफुमाथि एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ ।

घटना सार्वजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको थियो ।

आक्रमणमा संलग्न व्यक्ति फरार रहेको र उनीहरुलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काठ तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाँइ गर्दै आएको छ ।

अवैध कार्यको विरोध गर्ने व्यक्तिलाई उनीहरुले पटकपटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीन-चार वटा मुद्दा दर्ता भसकेका छन् ।

घाइते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। यता राप्ती सोनारी तरुण दल अध्यक्षमाथी भएको आक्रमणको नेपाल तरुण बाँकेले निन्दा गरेको छ।

तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले तत्काल दोषीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने पर्ने बताएका छन् । यो घटनालाई लिएर प्रहरीले गम्भीरताका साथ हेरी दोषीलाई कडा कारबाहीको कदम चाल्नै पर्छ, यदि प्रहरीले यो घटनाका  दोषीलाई पक्राउ नगरेमा कडा आन्दोलन गरिने अध्यक्ष शाहले चेतावनी दिएका छन् ।

प्रहरी चौकी कञ्चनपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक हुमबहादुर बिकले आक्रमणमा संलग्न ब्यक्तिहरु पत्ता नलागेको बताएका छन्। यस बारेमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको बिकले जानकारी दिएका छन् ।



नयाँ