arrow

चितवनमा मुख्यमन्त्री पौडेलको ‘हावादारी भाषण’ सुनेर हाँसोको फोहोरा

logo
रबिन्द्र गौतम
प्रकाशित २०७७ माघ १७ शनिबार
dormani2.jpg

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ पार्टी नेकपा दुई चिरा परेको छ । संसद विघटन यता केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको सभा, बैठक र सम्मेलनहरु भइरहेका छन् ।

सधैंका भाषणमा प्रधानमन्त्री ओली र माधव नेपाल, प्रचण्ड लगायत पूर्वमन्त्रीहरुको दोहोरी नै चल्ने गरेको छ । हरेक कार्यक्रममा नेकपाका दुई समूहबीच निकै व्यंग्य र कटाक्ष चल्ने गर्छ ।

विभिन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न उखान टुक्का र तर्कहरु प्रस्तुत गर्दै उपस्थित कार्यकर्तालाई हसाँउने गरिरहेका छन् ।

ओलीको उखान टुक्का र भनाईहरु सबैलाई सामान्य नै लागिसकेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि प्रधानमन्त्री ओलीकै लाइनमा हिंडेका छन् । हावादारी र नसुहाउने तर्कहरु निकै कम प्रस्तुत गर्ने मुख्यमन्त्री पौडेलले शनिबार भने निकै हावादारी भाषण गरे ।

शनिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलको भाषण निकै नसुहाउँदो थियो । 

सम्बोधनका क्रममा सुरुमै उनले भने, ‘आजको यो विशाल जनसभाले बिरोधीहरुको मुटु थर्किनेछ, कतिलाई त आइसीयूमै भर्ना गर्नु पर्नेछ, धेरैलाई ‘हर्ट अट्याक’ हुनसक्नेछ । उनले त्यतिमात्र भनेनन् उनले ‘डाक्टर साप’हरुलाई आफ्ना हस्पिटलहरुमा आइसीयू बेड सुरक्षित राखिदिन आग्रह पनि गरे ।

मुख्यमन्त्रीले यस्तो हावादारी भाषण गरेको सम्भवत पहिलो पटक हो । जनसभामा उपस्थित हुनेहरुले उनको भाषण सुनेपछि ताली र हाँसोको फोहोरा त छाडे, तर उनको यो सम्बोधनको आलोचना पनि उत्तिकै भएको छ ।

उनले गरेको छोटो सम्बोधनमा खास कुरा केहि बोलेनन् उनले । बारम्बार प्रचण्ड, माधव नेपाल पक्षतिर मात्र ब्यङ्ग गर्दै भाषण मात्र गरे । उनले विरोधीहरु नारायणीको पुलबाट हामफालेर आत्महत्या गर्न सक्छन् भन्दै त्यहाँ निगरानी बढाउनु पर्ने बताए ।

त्यतिमात्र होइन उनले प्रधानमन्त्री उपस्थित चितवनको सिटी हल शिलान्यास कार्यक्रम वहिष्कार गरेकोमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आलोचना पनि गरे ।

उनले भने, ‘आज मतपत्र चपाएर, च्यातेर बिजयी हुनेहरु प्रधानमन्त्रीको उपस्थितिमा वहिष्कारका नारा र बिज्ञप्ति लिएर बसिरहेका छन्, म प्रश्न गर्छु कसको जुठोपुरो खाएर बसेको ?’



नयाँ