- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ। मध्यनेपाल नगरपालिकाका ६० वढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मध्यनेपाल नगरपालिका–९, बाँग्रेका नेकपा सम्वद्ध कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
लामो समय नेकपामा आवद्ध भएका स्थानिय सोमबहादुर रानाभाट, प्रेमबहादुर थापा, अर्जुन थापा, निशान कुँवर, ईश्वर थापा, अनिल कुँवर, देव बहादुर परियार, अमृत केसी, किशोर दवाडी, संजीव दवाडी, लक्ष्मण दवाडी लगायत ६० जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस मध्यनेपाल–९, वडा कार्यसमितिको आयोजनामा एक कार्यक्रम गरी नवप्रवेशीहरुलाई स्वागत गरिएको नेका मध्यनेपाल कार्यसमितिले जनाएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य एवं मध्यनेपाल नगरपालिका प्रमूख रमेशकुमार पाण्डेले नव प्रवेशीहरुलाई टिका तथा खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पाण्डेले दुई तिहाई जनमत पाएको नेकपाले मुलुकको विकास र समृद्धिको खाका समेत बनाउन नसकेको आरोप लगाए। उनले नेकपा नेताहरु स्वार्थ र पदलिप्त भएको हुँदा विकास र समृद्धिको आश गरेका आम नागरिक निराश हुनुपरेको उल्लेख गरे।
नवप्रवेशीहरुले नेकपामा दलगत विचार र सिद्धान्तको खडेरी लागेको भन्दै स्वार्थी नेताहरुको लहलहैमा लागेर सत्तामा पुर्याउँदा मुलुककै बर्बादी भएको धारणा व्यक्त गरेका थिए । मुलुकको संविधान, लोकतन्त्र, आम नागरिकका हक अधिकारका निम्ती हिजोदेखि कांग्रेसले खेलेको भूमिका र अहिले पनि देशलाई नेपाली कांग्रेसनै आवश्यक भएको भन्दै आफुहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले प्रतिक्रिया दिएका थिए ।
नेपाली कांग्रेस मध्यनेपाल–९ का वडा सभापती तोकबहादुर रानाभाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेका जिल्ला सदस्य मदनकुमार न्यौपाने, मध्यनेपाल नगर कार्यसमिति सभापती बसन्तराज घिमिरे, नेपाल तरुण दल मध्यनेपाल कार्यसमिति सभापती कमलप्रसाद गुरुङ लगायतको उपस्थीती थियो ।
यसैविच शनिवारकै दिन सोहि वडामा तरुण दल वडा कार्यसमति पनि गठन भएको छ । नेपाली कांग्रेस सम्वद्ध स्थानिय तरुणहरुको भेलाले सुनिल दुराको अध्यक्षतामा २७ सदस्यीय तरुण दल मध्यनेपाल–९, वडा कार्यसमिति गठन गरेको हो ।