arrow

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठक प्रधानन्यायाधीशद्वारा अस्वीकार

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
cholendra1.jpg

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश राणाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको भन्दै सो मुद्दामा प्रधानमन्त्रीलाई विपक्षी बनाइएकाले प्रधानमन्त्रीले बोलाएको बैठकमा नआउने सन्देश पठाएका हुन् । 
प्रधानन्यायाधीशको सो सन्देशपछि परिषद्को बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले बुधवार बिहान ११ बजेका लागि परिषद् बैठक बोलाएका थिए भने बिहानबाट सारेर फेरी बुधवारकै लागि साँझ ५ बजे बोलाएका थिए । 

प्रधानमन्त्री ओलीले गत मंसिर ३० मा परिषद् बैठकमार्फत विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नुअघि पठाइएको थियो । पत्र पठाएको मङ्गलवार ४५ दिन पुगेको छ ।

नियुक्तिको जानकारीसहित सुनुवाइका लागि परिषद्ले पठाएको पत्रको सक्कल भने गत सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाले परिषद्मा फिर्ता पठाइसकेका छन् ।

स्रोतका अनुसार सभामुखले पत्र फिर्ता पठाएपछि प्रधानमन्त्री ओलीले परिषद् बैठक राखेर राष्ट्रपति समक्ष नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेका थिए । 

तर परिषद्का सदस्य मध्येका एक रहेका प्रधानन्यायाधीश राणाले बैठकमा सहभागी नहुने सन्देश दिएपछि परिषद्ले गरेका नियुक्ति के हुने भन्ने अन्योल बढेको छ ।   

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर बहुमतबाट पनि निर्णय गर्न सकिने अध्यादेश ल्याइसकेको छ । तर, परिषद्मा हाल कायम रहेका अध्यक्ष ओलीसहितका पाँच जना पदाधिकारीमध्ये प्रधानन्यायाधीश जबरा, सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा परिषद्को बैठकका लागि कोरम पुग्दैन । 

उपसभामुख पनि परिषद्को सदस्य रहने व्यवस्था छ । तर हाल उपसभामुख पद रिक्त छ । राष्ट्रिय सभाका अध्यक्ष सहभागी हुँदा पनि दुई जनाले मात्रै गरेको निर्णय वैधानिक हुँदैन । 

परिषद् बैठकमार्फत गरिएको सो नियुक्तिका विपक्षमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट  दायर गरेका छन् भने मुद्दा विचाराधीन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ