arrow

मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ २९ बिहिबार
makwanpur-bakiya.jpg

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेका हुन् । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो ।

देशकै दोस्रो बालमैत्री गाउँपालिका बनेकोमा बधाई दिँदै मुख्यमन्त्री पौडेलले घोषणा अनुसारको कार्यमा निरन्तर लागि पर्न आग्रह गरे । बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्त्वपूर्ण भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले प्रदेश सरकारले बालबालिकाको हितमा थुप्रै काम गरेको र बालमैत्री कार्यका लागि स्थानीय तहलाई सहयोग गर्ने पनि बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बाग्मती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको समेत बताए । घोषणा कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले बधाई दिँदै घोषणा अनुसारको कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति मकवानपुरले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे सँगै आज बृहत् कार्यक्रमका बिच बकैयालाई बालमैत्री घोषणा गरिएको हो  । बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाभित्रका १२ वटा वडाहरू बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको लागि तीन वर्ष अघिदेखि काम गर्दै आएको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरूमा रहेर काम गरिएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हासिल गर्नुपर्नेमा १९ वटा शतप्रतिशत र २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ । जसमा २० सूचकमा सफलता हासिल गरिएको अध्यक्ष खनालले बताए ।

कुल ४६ हजार २ सय ४८ जनसङ्ख्या भएको बकैयामा ८ हजार ४ सय ३१ घरधुरी रहेका छन् । जसमा बालबालिकाको सङ्ख्या १७ हजार ४ सय ६० रहेको छ  । ७६ वटा सामुदायिक र ५ वटा संस्थागत गरी कुल ८१ वटा विद्यालय रहेको बकैयामा बाल विकास केन्द्र ७४,बालसमुह ११३ वटा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ