arrow

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
delivery-relief-helicopter.jpg

ताप्लेजुङ। बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिवार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।

बच्चा जन्मने क्रममा बच्चाको हात मात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । हेलिकोप्टर आउन्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन् । 

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा 
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ गाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ । समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य चौकीमा आवश्यक उपकरण जोड्दै गएको हो ।

गत सातादेखि फक्ताङलुङ–५ तापेथोकमा पहिलो पटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नका लागि भिडियो एक्स-रे सेवा शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए । मान्छेको संवेदनशील अङ्ग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको उनले जानकारी दिए । जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपापलिकामै दिन लागेको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।

विगतका दिनमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालको प्रयोग गर्न सदरमुकामसम्म पुग्नुपर्थ्यो । गाउँपालिकाले एक चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिइरहेको प्रवक्ता लामाले बताए । आफ्नै गाउँमा भिडियो एक्सेर, इसिजी र प्रयोगशाला सेवा लिन पाउने भएपछि खुशी भएको स्थानीयवासी पूर्णकुमारी लिम्बूले बताए । फक्ताङलुङ गाउँपालिकाको जनसङ्ख्या १४ हजार ८८४ रहेको छ । सातवटा स्वास्थ्यचौकी र आठ सामुदायिक स्वास्थ्य एकाइबाट गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ