arrow

परम्परागत खेती छाडेर चितवन माडीका किसान माछा पालनमा

logo
राजेन्द्र प्रकाश ढकाल,
प्रकाशित २०७७ फागुन २ आइतबार
madi-fish-farmer.jpg

 चितवन । चितवनको माडी नगरपालिकाका किसानहरू परम्परागत धान खेती छाडेर माछा पालनतर्फ आकर्षित भएका छन् । लगानीको तुलनामा धान खेतीबाट उचित आम्दानी लिन नसकेका किसान यति बेला माछा पालनमा रुचि देखाएका छन् । माछा पालन गरेर यहाँका किसानहरूले मनग्य आम्दानी पनि गर्न थालेका छन् ।
 


माडी नगरपालिकाको वडा नम्बर १ को सिखारीपुर गाउँमा ५५ घरपरिवार छ । तीमध्ये २६ घरपरिवारले २४ बिघा, २  कठ्ठा ५ धुरमा माछा पालन गरिरहेका छन् ।

एक बिघामा मुस्किलले १५ हजारको धान बेच्ने किसानहरू माछा पालनबाट भने मनग्गे आम्दानी गर्न थालेका छन् । सिखारिपुर–१, माडिनगरपालिकाका गोपाल महतो भन्छन्, ‘मेरो साढे दुई बिघामा उत्पादन गरेको धान बेच्दा ३० हजार जति आउँथ्यो, अहिले वार्षिक १२ लाखको माछा उत्पादन गर्छु, ६ लाख जति फाइदा हुन्छ ।’

प्राविधिकहरूको साल्लाहा अनुसार अनुकूल समयमा माछाका भुरा राख्ने र दानाको उचित मात्रा मिलाएर खुवाउने हो भने १ कट्ठामा साढे २ सय ५० देखि ३ सय केजीसम्म माछा उत्पादन हुने किसान बताउँछन् ।

माछा पालनका लागि २०७२ सालदेखि संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम (युएनडिपी) ले सहयोग गरेपछि यहाँका किसानहरूको जीवन नै फेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले जङ्गली जनावरहरूले यहाँका किसानलाई दुःख दिँदै आएका थिए ।

किसानहरूको बर्सभरिको मेहनत जङ्गली जनावरले एकै छिनमा सखाप बनाइ दिन्थे । तर माछा पालनका लागि पोखरी बनाउँदा जङ्गली जनावरको आतङ्क पनि घटेको छ । पोखरीका ठुला–ठुला खाडलले जङ्गली जनावरको गाउँतर्फ आउन रोकिदिएको छ । यहाँका किसानलाई २०७२ देखि २०७३ सालसम्म युएनडिपीले माछा पालनका लागि आवश्यक सहयोग गरेको थियो ।

त्यसपछि नेपाल सरकारको पशु शाखाले तालिम दिने र पोखरी बनाइदिने काम गरेको थियो ।

माछा पालन सुरु गरेदेखि अहिलेसम्म बजारका लागि कुनै समस्या नरहेको माछा पालक कृषक महतो बताउँछन् । सरकारले माडी क्षेत्रलाई माछाको पकेट क्षेत्र घोषणा गरेको छ ।



नयाँ