arrow

चिकित्सा शिक्षा आयोगमाथि नाजायज हस्तक्षेप बन्द गर: डा.गोविन्द केसी

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा जुटेका डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग र यसका पदाधिकारीमाथि हालै भएको गुण्डागर्दी तथा आयोगलाई असफल बनाउन षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले स्वास्थ्य मन्त्रालयले आयोगको स्थापनाकालदेखि नै काममा अनावश्यक भाँजो हाल्ने र हस्तक्षेप गर्दै आएको र पछिल्लो समय त्यस्तो नाजायज दबाब बढाएर आयोगका पदाधिकारीलाई कामै गर्न कठिन हुने अवस्था सिर्जना गरेर आयोगलाई असफल बनाउन प्रयास गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सत्ता नजिककमा मेडिकल माफियाहरुले आपराधिक व्यक्तिहरुलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरुलाई धम्काउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेका छन् । त्यसैले आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीहरुलाई तत्काल कारवाही गर्दै स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

प्रेस विज्ञप्ति
 चिकित्सा शिक्षा आयोग र यसका पदाधिकारीमाथि हालै भएको गुण्डागर्दी तथा आयोगलाई असफल बनाउन चलाइएको कुटिल षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
 
पछिल्लो समय सत्ता नजिककमा मेडिकल माफियाहरुले आपराधिक व्यक्तिहरुलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरुलाई धम्काउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेका छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगको स्थापनाकालदेखि नै आयोगको काममा अनावश्यक भाँजो हाल्ने र हस्तक्षेप गर्ने काम गरिआएको छ । पछिल्लो समय त्यस्तो नाजायज दबाब बढाएर आयोगका पदाधिकारीलाई कामै गर्न कठिन हुने अवस्था सिर्जना गरेर आयोगलाई असफल बनाउन प्रयास गरेको छ ।

यसरी मेडिकल माफियाका आपराधिक स्वार्थ र र स्वास्थ्य मन्त्रालयको अवरोधका कारण आयोगको कार्य सम्पादन प्रभावित भएको छ । आयोग निर्माण भएको धेरै समय नभएका कारण आयोगको कार्य सम्पादन चुनौतीपूर्ण छ र पदाधिकारीहरुबाट कमी कमजोरीहरु भएका हुन सक्छन् । खास गरी सबै विद्यार्थीहरुलाई न्याय हुने गरी निर्णयहरु गर्ने र तिनलाई कार्यान्वयन गर्ने चुनौती आयोगसामू छ । दशकौंको बेथितिका कारण भद्रगोल भएको मेडिकल शिक्षामा थिति स्थापित गर्नु अहिले आयोगको पहिलो कर्तव्य हो । त्यसपछि मेडिकल शिक्षाको गुणस्तर उकास्न रचनात्मक कदमहरु चाल्ने अर्को काम त बाँकी नै छ ।
 
तर काम गर्दा भएका कमजोरीहरुबाट सिक्दै र सुधार गर्दै जानुपर्नेमा आयोगको मर्ममै प्रहार गर्नु भनेको हामीले दशक लामो संघर्षबाट हासिल गरेका उपलब्धिहरु उल्ट्याउने प्रपञ्चबाहेक अरु हुन सक्दैन ।

त्यसैले आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीहरुलाई तत्काल कारवाही गर्दै स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।


डा गोविन्द केसी
२०७७ फागुन ३



नयाँ