arrow

रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण कार्य तीव्र

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
rampur-aaurbedik-.jpg

रामपुर, पाल्पा । पाल्पाको रामपुरमा १५ शय्याको आयुर्वेद औषधालय तथा प्राकृतिक अस्पताल तीव्र गतिमा निर्माण भइरहेको छ ।  वि.स.२०१७ सालमा स्थापना भएको रामपुर आयुर्वेदिक औषधालयको स्तर उन्नतिको रूपमा आयुर्वेद तथा प्राकृतिक अस्पताल बन्न लागेको हो ।

कोभिडको समयमा आयुर्वेदिक उपचार तिर नागरिकको ध्यान गएको बेला धमाधम आयुर्वेदिक अस्पतालको भवन निर्माण हुनुलाई स्थानीयले गौरवका साथ लिएका छन् । रामपुरको यही वडामा ५० शय्याको रामपुर अस्पताल समेत छ । अस्पतालको समेत भवन निर्माणको चरणमा छ ।
 
सङ्घीय सरकारको १० करोड ४८ लाख ७९ हजार ५ सयको लागतमा शिव शक्ति कन्स्ट्रक्सन प्रावि मार्फत प्राकृतिक अस्पतालको निर्माण थालिएको रामपुर आयुर्वेद शाखा संयोजक तथा औषधालयका प्रमुख कविराज चेमनप्रकाश पोखरेलले जानकारी दिए । गत २०७६ पुस २५ गते भवन निर्माण गर्ने सम्झौता भए पनि काम थालेसँगै कोभिडका कारण भवनको जग खन्दाखन्दै काम रोकिएको थियो । ‘‘भवनको जग खन्ने क्रममा काम रोकियो,पोखरेलले भने–लकडाउनका कारण सामान पनि ल्याउन सकिएन ।’’ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरे पनि काम गर्न र सामान ल्याउन नपाएको उनको भनाई छ ।

हाल कोरोनाको अवस्था कमजोर र सामान्य अवस्था तिर बढेकाले विकास निर्माणका कामले तीव्रता पाएको छ । आगामी २०७८ भदौ २४ गते भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता पत्रमा उल्लेख छ । त्यस कारण पनि भवन निर्माणको कार्य द्रुत गतिमा भइरहेको छ । हाल बन्दै गरेको भवन १२ रोपनी ८ आना क्षेत्रफलमा बन्नेछ ।

स्तरोन्नति भएसँगै सुविधा सम्पन्न अस्पतालमा नवौँ तहका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगी लगायतका जनशक्तिले सेवा दिनेछन् । हालको आयुर्वेदिक औषधालय भने ३ कोठे कच्ची भवनमा छ । साना–साना कोठाबाट सेवा दिनुपर्ने अवस्था छ भने औषधालयका औषधी राख्न मुख्य समस्या छ ।

हाल पाल्पामा ६ वटा आयुर्वेद औषधालय छन् । जिल्ला सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद रहेको छ । रामपुर नगरपालिका भित्र दुई आयुर्वेद संस्था छन् । जहाँ रामपुर आयुर्वेद र गैँडाकोट आयुर्वेद औषधालय, रैनदेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्व खोला गाउँपालिकामा एक-एक वटा आयुर्वेदिक संस्था छन् । औषधालयमा कविराज १-१ जना, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट इमर्जेन्सी, ल्याब, एक्सरे लगायतका सेवा सञ्चालन हुनेछ ।

०१७ सालमा आयुर्वेदिक औषधालयको रूपमा स्थापित रामपुर आयुर्वेदिक औषधालय २०२८ देखि २०४३ सालसम्म लुम्बिनी अञ्चल आयुर्वेद औषधालय, ०४३ माघ ५ गते पुनः हस्तान्तरण भए पनि रामपुर आयुर्वेद औषधालयको रूपमा नै चलिरहेको यस आयुर्वेद अहिले अस्पतालको रूपमा विकास भएको हो ।

हाल औषधालयमा ओपिडी, जनरल, स्तनपानलाई लक्षित गरी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक सेवा सहित सेवा लिन पुग्ने जो सर्वसाधारणलाई प्रवाह भइरहेको छ । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, गानोगोला, खाना खान रुचि नहुने, बाथ, नशा फुलेको तथा हाल खुट्टा दुख्ने जस्ता समस्याका नागरिक आयुर्वेद उपचार प्रति आकर्षित भएकाले सोही प्रकारका समस्या भएका व्यक्ति सेवा लिन आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ