arrow

बाँकेको नरैनापुरका सबै वडा पूर्ण खोप सुनिश्चितता घोषणा

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
narainapur.jpg

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएपछि गाउँपालिकाका ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

वडा नम्बर ६ यसअघि नै पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेको थियो भने वडा नम्बर १ देखि ५ लाई बुधवार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । अध्यक्ष शाहले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।

उनले यो अभियानलाई सफल बनाउने महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले पूर्ण खोप घोषणा गरे पनि यसलाई दिगोपना दिनका लागि अनुगमन गरिने बताए ।

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह लगायतले बोलेका थिए । त्यस अवसरमा पूर्ण खोप घोषणाका लागि महत्त्वपूर्ण योगदान दिएका विभिन्न सङ्घसंस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो ।

गाउँपालिकालाई फागुन ८ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम छ । बाँके जिल्लालाई फागुनभित्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने लक्ष्य छ । नरैनापुर बाहेक अब बजैनाथ गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ