- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले विघटन गरेको संसद ब्युँतिएपछि एकाएक छट्पटिएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मध्यरातमा कविता लेखेका छन् ।
उनले संसद विघटनको लडाइँमा आफूहरु पराजित भए पनि कमजोरीमा किचिएर होइन कमजोरीलाई पराजित गर्दै फेरि चिरञ्जीवी बनिछाड्ने कल्पना कवितामा गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा मध्यरातमा लेखिएको उक्त कवितामा आफूहरु अहिले पराजित भए पनि फेरि विजयी हुने भावुक कविता उनले पोष्ट गरेका हुन् ।
उनले कवितालाई ‘यात्रा’ शीर्षक दिएर लेखेका छन् ।
यस्तो छ उनको कविता–
यात्रा
लड्दै उठ्दै –लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै– सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाइँमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन –
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरञ्जीवी बनिछाड्छन् मानिसहरू !!