arrow

प्रचण्ड-नेपालको रोडम्याप बिनाको यो कस्तो विद्रोह ?

logo
संजिव कार्की,
प्रकाशित २०७७ फागुन १८ मंगलबार
nepal-prachanda-article-by-sanjeeb.jpg

कुनै पनि राजनीतिक घटनाक्रमको एउटा शृङ्खला हुन्छ । जसमा विभिन्न प्लान र एक्सन-रियाक्सन हुने गर्छन्, बन्ने गर्छन् । प्लानहरू ‘ए’,‘बी’,‘सी’ गरेर तय गरिन्छ । थुप्रै विकल्पमा छलफल र गम्भीरतापूर्वक बहस सञ्चालन गरिन्छ । अनेकन् आयाम र कोणबाट विषय वस्तुको चिरफार गरिन्छ । सबै किसिमका प्लानको तयारीपछि मात्रै ठुलो एक्सनमा जाने निर्णय सम्भव हुन्छ । कानुनी, नैतिक ,भौतिक, आर्थिकलगायत रणनीतिक पक्षका सम्भावित जटिलता, चुनौती र अप्ठ्याराको समाधानका उपायबारे विहङ्गम दृष्टिगोचर गरिन्छ । तर यी सारा कुराको हेक्काबिना प्रचण्ड-नेपाल गुटले नेकपामा विद्रोह गरेको देखिन्छ । विरोध प्रधानमन्त्री तथा प्रथम अध्यक्ष खड्ग ओलीको विरुद्ध छ तर उनको रियाक्सनको आकलन गरेर कसरी आगामी दिनको व्यवस्थापन गर्ने कुनै योजना र उद्देश्य देखिन्न ।

विरोध पछिको प्रतिरोधबाट उत्पादन हुने कुनै पनि परिस्थितिको लेखाजोखा गरेको पाइन्न । जे पर्ला टर्दै जाला भन्ने धारणा राखेर विरोधको स्वरूप निर्माण गरेको देखिन्छ । जुन नितान्त आलोकाँचो र गन्तव्यविहीन यात्रा हो । चाल गोलमाल भएको यात्राले सही गन्तव्यमा पुर्‍याउन सक्दैन, आज त्यस्तै यात्री भएको छ  प्रचण्ड-नेपाल गुट । त्यति धेरै अनुभव भएका तीन तीन जना पूर्व प्रधानमन्त्री भएको पार्टीले ओली विरुद्धको विद्रोहमा क्लियर रोडम्याप किन बनाउन सकेन ? शायद जवाफ उहाँहरूसँग नै छैन होला । यदि भए पनि त्यो धरातलीय यथार्थसँग मेल खाने खालको छैन। ओलीका सम्भावित कदम र निर्णयको ख्याल नराखी उनको बकितम् संसद् विघटन हुन्छ र ब्युँतिँदैन भन्ने कुरामा मात्रै अलमलमा परेर संसद्ले पुनर्जीवन पाएमा के गर्ने ओली के गर्छन् भन्ने बारेको अनभिज्ञता टीठलाग्दो छ । जुन नयाँ बन्दै गरेको पार्टीको लागि सुहाउँदो विषय होइन ।

स्पष्टताको खाँचो

संसद् पुनर्स्थापनापछि आफ्नो भन्दा अरू कै भूमिका हुन्छ भन्ने कुरा बुझेर विपक्षी कांग्रेसलाई रिझाउन नसक्नु र नजान्नु प्रचण्ड-नेपाल खेमाको अल्पदृष्टि हो । पार्टी वैधानिक  र प्राविधिक रूपमा अलग नभएकोले यसको छिनोफानो नगरी कुन हैसियत र अवस्थामा संसद्मा जाने त्यसको निर्क्योल नहुँदा के गर्ने ? यस्तो अवस्थामा संसद्को ढोका खोलेपछि उहाँहरू संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने कि छुट्टै पार्टीको रूपमा बस्ने यसको विकल्प कसरी बन्छ संसद्मा ? पार्टी भिन्न हुँदा पहिलेकै नेकपा बन्ने कि अलग परिचय र अलग धारको सुधारिएको नेकपा, आधुनिक अनुशासित, पारदर्शी, कर्तव्यनिष्ठ नेकपा बन्ने ? त्यसैले प्रतिनिधि सभा पुनर्स्थापित हुँदैमा धेरै ठुलठुला गफ गर्नुको तुक छैन । निम्न कुराहरू बारे स्पष्ट नपारी नेकपा कसरी नयाँ भएर जान सक्छ ?

के नेताहरू जनतालाई विश्वास गरेर विदेशी चलखेललाई छेउ लगाउँदै, सत्ताको राजनीति गर्न सक्नुहुन्छ ? त्यस्तो परिस्थिति देखिएको छैन । बारम्बार विगतदेखि गरेका एक होइन अनेक गल्तीको लागि माफी माग्नु हुन्छ ? कतै सार्वजनिक रूपमा गम्भीर भएर माफी माग्नु भएको छ ? संविधान र कानुनलाई गोल खेल्न पाइन्न भन्ने कुरा अब आउने दिनमा कसरी प्रमाणित गर्नुहुन्छ ? आज जुन स्तरको भ्रष्टाचार भइरहेको छ, जसरी आज पदका लागि यताउता गर्ने अवसरवादीहरू नाच्दै छन्, भोलि पदका लागि दसतिर नाच्ने उता-यता गर्ने नैतिकताहीन मानिसको जगजगीलाई कसरी रोक्नु हुन्छ ?

जसरी माफियाहरू नेताका कोठामा पुगेका छन्, जसरी मन्त्री हुनका लागि नैतिकता छोड्नेको हुल लागेको छ त्यस्ता प्रवृत्ति विरुद्ध कसरी लड्नु हुन्छ। अन्यथा किन तपाईंहरुलाई विश्वास गर्ने ? भरोसा गर्नुपर्ने आधार कतै देखिएको छैन । कार्यकर्तालाई झोले मात्रै बनाउने भजन मण्डली मात्रै बनाउने कि उद्यमशील, नैतिक कर्तव्य बोध गर्ने जागरूक बनाउन कुनै नीति छ ? सबै नेताको सम्पत्ति विवरण सार्वजनिक गरेर पद बाहिर जाँदा र निस्कँदा सार्वजनिक गर्ने प्रतिबद्धता आएको छ ?

अपराधीको कुनै धर्म र सिद्धान्त हुँदैन । सिद्धान्तहीन जमात र अवसरवादीको भिड व्यवस्थापन गर्न गाह्रो हुन्छ यस्ता अधर्मी पापी र निकृष्टलाई पार्टीमा स्थान नहुने कुनै ग्यारेन्टी भएको दस्ताबेज निस्कन्छ ? महँगो पार्टी कार्यक्रम गर्नेले सामान्य मान्छेको पहुँचमा राजनीति र चुनाव गराउने उद्देश्य हासिल गर्न सक्छ र ? पार्टी कार्यकर्ताको महत्त्वाकाङ्क्षी स्वार्थ बाधक नबन्ने कुनै आकर्षक कार्यक्रम र आकर्षण के छ ?

स्वार्थ बिना काम नगर्ने, नहुने परिपाटीको विकास भइरहेको कारण निस्स्वार्थ अर्थात् कम स्वार्थमा काम गर्न गराउन मुस्किल छ । के यस्तो परिपाटी तपाईँहरूको पार्टी र तपाईँहरूले बनाउने सरकारले तोड्ने गुरु योजना सार्वजनिक गर्दै छ ? ओलीले संविधान बाहिर गएर राजनीति गर्न खोजे अब संविधान भित्र बसेर गर्नेले पनि लाज त्यागेर संविधान भित्र बसेर गरेको हेर्नु र देख्नु नपरोस् भन्ने आम मान्छेको बुझाइलाई सम्बोधन गर्ने कुन रोडम्याप छ ?

लोभी पापीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? किनकि लोभी पापी, आधा-आधा ओली प्रचण्ड खेमामा बाँडिएर बसेका छन् । शुद्ध र अशुद्ध छानिएको भए शुद्धीकरण गर्न सजिलो थियो । तर सुकिला-मुकिला, अवसरवादीको झुन्ड प्रचण्ड-नेपाल गुटमा अब नजानिँदो गरी छिर्ने छन् । पार्टी ठुलो बनाउन र चुनाव जित्न जो पनि चाहिएको छ । तसर्थ पार्टी सप्रने, सुध्रिने होइन बर्षे भेल झैँ हुनेछ । पार्टीलाई बर्षे भेल होइन हिउँदमा बग्ने कन्चन नदी झैँ बनाउन तपाईँहरूको आचरण, व्यवहार र सङ्गतिमा चमत्कारिक परिवर्तन गर्ने र हुने आधार पत्र खै ?

एमसीसी के गर्ने ? यसबारे डबल रोल देखिँदै आएको छ, खै प्रष्टता ? सैद्धान्तिक रूपमा मदन भण्डारीको बहुदलीय जनवाद कि प्रचण्डको २१औँ शताब्दीको जनवाद अर्थात् ‘प्रचण्ड पथ’ ? यसको निचोड व्याख्या विश्लेषण बिना पार्टी बन्छ कि क्लब ? संसद् पुनर्स्थापनाको विजय जुलुस निकाल्नेहरुले, भ्रष्टाचार गर्दैनौँ, आमजनताको पक्षमा काम गर्छौ भनेर श्वेतपत्र जारी गर्ने हुती छ ?

संयम र अनुशासनको अपरिहार्यता

संसदीय खेलमा खड्ग प्रसाद ओलीले प्रचण्ड-नेपाललाई हायलकायल पार्न सक्ने प्रशस्त सम्भावना छ । अबका दिनमा प्रचण्ड-नेपालले थोरै गल्ती गर्दा पनि परिणाम महँगो पर्नेछ । रघुजी पन्तले जुन टिप्पणी गरे त्यो एक राजनीतिक नेताको बौद्धिकता र नैतिकता सकिएको प्रमाण हो । जसले महिलाको अङ्गको आधारमा तर्क गर्छ त्यो उसको दरिद्रताको पहिचान हो । यस्ता यस्ता केन्द्रीय नेता भएको पार्टीले आफूलाई महिलामैत्री बनाउन कठिन हुन्छ ।

देख्दा सामान्य लागे पनि यो प्रवृत्ति नेकपा प्रचण्ड-नेपालको लागि महँगो र घातक छ । नेकपा बन्दै गरेको बेला नेताको बोलीमा संयम र अनुशासन जरुरी हुन्छ । जसको कारण कुनै लिङ्ग, बर्गलाई आघात नपुगोस् । तर नेता कार्यकर्ताको घमण्ड र बौद्धिकताले नेकपा फेरिन लागेको सङ्केत गर्दैन ? के यस्तो बेला उसको पालो पुग्यो अब हाम्रो खाने पालो भन्ने भाव मात्रै देख्दा जनताले पार्टी नेकपा सुधारिएछ । प्रचण्ड-नेपालले गज्जब पार्टी बनाएछन् भन्ने अनुभव र अनुभूति गर्न सक्छन् र ? रोडम्याप बिनाको परिवर्तन केवल आवरणमा भिन्नता हो । अन्तर्य एकै हो ।

 तसर्थ नेकपा प्रचण्ड-नेपालले जे गरिरहनु भएको छ यो पनि नेकपा माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेको मिलन झैँ सिद्धान्त विहीन एकता स्वार्थ पूर्तिको माध्यम मात्रै हो भन्ने कुरामा म विश्वस्त छु । मेरो कुरालाई आधार र प्रमाण पुर्‍याएर गलत ठहर गर्ने काम नेकपा प्रचण्ड-नेपालले गर्न सक्छन् ? यति भनिरहँदा खड्ग प्रसाद ओली पानी माथिको ओभानु बन्न सक्दैनन् । उनले इतिहासकै गद्दारी काम गरिसकेका छन् । उनका बारेमा विस्तृत रूपमा व्याख्या र विश्लेषण गर्न सक्ने प्रशस्त आधार र घटनाहरू जीवित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ