arrow

भारतीय सहयोगमा गोरखामा विद्यालयको निर्माण सम्पन्न

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
nepal-india-gorkha-school.jpg

काठमाडौं । भारत सरकारको चार करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा निर्माण गरिएको छ ।

हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भयो । 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक–एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहने उल्लेख गर्दै आएको दूतावासले भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप पहिले ‘साना विकास परियोजना’ को नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । 

यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको छ । सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । 

जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् । भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । 

यसको अलावा, भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । 

यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसीर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ । 

भारतले गोरखामा भूकम्पले क्षति पुर्याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ । सन् १९६० मा स्थापित हिमालय माध्यमिक विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । 

विद्यालयमा करिब २५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई क्षमतालाई अझ अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्याएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ