arrow

कोठाभित्र मृत भेटिएकी सावित्रीको हत्या आरोपमा श्रीमान् समातिए

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
bishnu-dahal.JPG

मोरङ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवमाथि श्रीमती हत्याको आरोप लागेको छ । श्रीमती हत्या आरोपमा ऋषिदेवलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

उनको कुटपिटबाट श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

प्रहरी निरीक्षक ढकालका अनुसार आफ्नै घरको कोठाभित्र महिला मृत अवस्थामा रहेको जानकारी प्रहरीलाई गत आइतबार राति ८ बजेतिर आएको थियो ।

घटना लगतै प्रहरी निरीक्षक ढकालको नेतृत्वमा खटिएको टोलीले नाकबाट रगत बगिरहेको, घाँटीभन्दा तलको भागमा थिचेको डोब तथा अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र नीलडाम रहेको अवस्थामा बाँसको खाटमाथि लडिरहेको महिलाको शव प्रहरीले फेला पारेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले मृत्युलाई शङ्कास्पद मान्दै घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्यो।

घटनास्थल र शवको प्रकृति हेरेपछि मृत्युलाई अस्वाभाविक मान्दै प्रहरीले सावित्रीका पति विष्णुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

श्रीमती हत्यामा पक्राउ परेका विष्णुले सुरुमा आफूले पनि मृत्यु भएको अवस्थामा श्रीमतीलाई पाएको बताए पनि उनले पछि मात्रै घटना स्वीकार गरेको प्रहरी निरीक्षक ॠषीराज ढकालले बताए ।

विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

नियमित मादक पदार्थ सेवन गरेर झगडा गर्ने र आफूसँग पैसा मात्रै मागिरहने गरेकाले रिसको आवेगमा थप्पड हान्दा श्रीमतीको मृत्यु भएको विष्णुले बयानका क्रममा स्वीकार गरेका छन् । थप्पड हान्नसाथ भुइँमा ढलेपछि उठ्न नसकेको र नाकबाट रगत बगेर मृत्यु भएको विष्णुले प्रहरीलाई बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ