arrow

जङ्गलमा शिकार खेल्ने क्रममा विकको हत्या, ५७ दिनपछि पक्राउ

logo
प्रकाशित २०७७ चैत १ आइतबार
dead2.jpg

गुल्मी । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आइतवार सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका-१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो ।

 घर्तीलाई गत माघ १० गते जङ्गलमा शिकार खेल्ने क्रममा रेसुङ्गा नगरपालिका-१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आइतवार प्रहरीले सार्वजनिक गरेको हो ।

गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुङ्गा नगरपालिका-१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा हत्याका अभियुक्त घर्तीले विकलाई शिकार खेल्ने क्रममा झुक्किएर बन्दुकले लागेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

 प्रहरीले उक्त घटनामा प्रयोग गरिएको भरुवा बन्दुकसमेत आइतवार बिहान जङ्गलमा तीन टुक्रा पारी छुट्टाछुट्टै स्थानमा लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

जिल्लामा पछिल्लो समयमा आपराधिक घटनाहरु बढ्दै गएको र प्रहरीले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप खेप्दै आएको अवस्थामा घटनामा संलग्नलाई पक्राउ गर्नुले नागरिकहरूमा ढिलै भए पनि केही मात्रमा सुरक्षाको अनुभूति थपिएको बताइएको छ । मृतककी विककी श्रीमती गीता विकले ढिलै भए पनि अनुसन्धान गरी दोषीलाई पक्राउ गरेकामा राहत महसुस भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ