arrow

गुरु दक्षिणाले बढायो शिक्षकहरूको हौसला

logo
प्रकाश बम,
प्रकाशित २०७७ चैत २ सोमबार
teacher1.png

डोटी । शिक्षकहरूको सम्मान स्वरूप केआइसिंह गाउँपालिकाले गुरु दक्षिणा दिने भएको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा कार्यरत सबै शिक्षकहरूलाई मासिक सय रुपैयाँ गुरु दक्षिणाका रूपमा दिने भएको हो ।

 सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सम्मान स्वरूप गाउँपालिकाले गुरु पुर्णिामाको दिन शिक्षकलाई प्रोत्साहन स्वरूप प्रति शिक्षक वार्षिक रु १२ सयका दरले दिने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए । उनले भने,' पछिल्लो समय सरकार, समाज र विद्यार्थी अभिभावकले समेत शिक्षकलाई हेर्ने दृष्टिकोण बिगत जति सकारात्मक छैन । गुरु भगवान् सरहको भूमिका शिक्षकहरूको अहिले पनि उत्तिकै छ भन्ने दर्शाउन गाउँपालिकाले गुरू दक्षिणा दिने निर्णय गरेको शाहीले बताए ।'

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत २ सय ६ जना शिक्षक-शिक्षिका रहेको गाउँपालिका शिक्षा शाखा निमित्त प्रमुख तेज बहादुर ऐरले जानकारी दिए। सङ्घ र केन्द्र सरकारले शिक्षकलाई सम्बोधन गर्न नसकेको समयमा स्थानीय सरकारले थोरै रकम भए पनि प्रोत्साहन स्वरूप गुरु दक्षिणा दिने कार्यको थालनीले हौसला बढेको सरस्वती मावि रानागाँउका प्रअ मीन रानाले बताए ।

गाउँपालिकाले गुरु पुर्णिामाका दिन प्रोत्साहन स्वरूप वार्षिक१२ सय रुपैयाँ दिने निर्णय सह्रानीय भएको भुवनेश्वरी आधार भूत विद्यालयमा कार्यरत शिक्षक हरि सुदामा जैसीले बताए । पछिल्लो समय शिक्षकलाई हेर्ने दृष्टिकोण फरक भएको समयमा गाउँपालिकाले यस्ता कार्यक्रम ल्याउँदा सबै शिक्षकहरूको हौसला बढेको जैसिले बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनको सुझाव छ । सुदूरपश्चिममा यसरी शिक्षकहरूलाई गुरु दक्षिणा दिने एक मात्र स्थानीय तह के आई सिंह गाउँपालिका हो ।

गाउँपालिकाले दलित ,अति बिपन्न, अपाङ्ग , अनाथ तथा जेहेन्दार केआइसिंह छात्रवृत्ति दिने व्यवस्था समेत गरिएको निमित्त शिक्षा शाखा प्रमुख ऐरले बताए । गाउँपालिका भित्र रहेका कक्षा ११ र १२ मा अध्ययनरत ४२ जना र ९ र १०मा अध्ययनरत १ सय जनालाई गत वर्ष छात्रवृत्ति वितरण गरिएको उनले बताए । गाउँपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचाअनुसार कक्षा १ देखि ५ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार लागि पहल गरिरहेको बताउँदै नयाँ शैक्षिक सत्र देखि कक्षा एकमा लागू गर्ने योजना रहेको बताए ।

उनले भने ,' गाउँपालिका भित्र रहेका साबिकका पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्यले किताब सँग बालक र सृजनात्मक कोठा व्यवस्थापन कार्यक्रम लागू गरेका छौँ । सरस्वती मावि रानागाँउ,इन्द्र मावि लेकगडा, झिमेमालिका मावि वायल, वासुदेवी मावि झिगावस्ती र भूमिराज मावि सलेना रहेका छन् '।

उनले थपे,' त्यत्ति मात्र नभएर गाउँपालिकाले प्रोत्साहन गरे सँगै पाँच वटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठन पाठन भइरहेको छ । गाउँपालिका भित्र रहेका सरस्वती मावि रानागाँउमा कक्षा १ देखि ५ सम्म, लाटाकलाइरे आधारभूत विद्यालय , कलाइरे आबि, मस्टेश्वर आबि बुहारगाउँ र दुर्गा आबि काफलिमा अङ्ग्रेजी माध्यममा पठन पाठन भइरहेको ऐरले बताए ।

गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम समेत रहेको बताइएको छ। त्यस्तै युवा प्रतिभा पहिचान , विद्यालयको शैक्षिक अवस्था पहिचान ,विद्यालयमा इन्टर नेट जडान , विद्यालय अनुगमन , केआसिंह अध्यक्ष कप लगायतका कार्यक्रम रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ