arrow

ओछ्यान मै थलिए “कर्नाली दख्खिन बग्दो छ” का पुन्नबहादुर

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत ५ बिहिबार
panna-bahadur.jpg

मुगु । अगेनामा आगो बलिरहेको छ,ओदान माथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फतफत पाकी रहेको आवाज आइरहेको छ,चुलोको दायाँ पट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापी रहेका छन् । एक अधवैसे महिला बाहिर भित्र गदै केही खोजी रहेकी जस्तै गरिरहेकी छन् ।

चुलोको पूर्वपट्टि भुईँमा एक थान कपडा ओछयाईएको छ,त्यस माथि एउटा महिलाको पातलो सल ओढेर गोडा माथि हात राख्दै बसेका एक व्यक्ति मलिन अनुहार लिएर टोलाई रहेका छन् । लाग्छ उनले आफ्नो सामुन्ने बसिरहेका ३ बालकहरूको बारे सोच्दै टोलाएका हुन । यो मनै भावुक बनाउने दृश्य कुनै सिनेमा वा कुनै नाटकको भनै एक पत्रकार तथा कलाकारको घरमा देखिएको वास्तविक दृश्य हो ।

पत्रकार तथा कलाकार सुमन मल्ल मधुमेह ,बाथ र उच्च रक्तचापले थलिएर पछि आर्थिक अभाव र गरिबिका कारण उपचार गर्ने आर्थिक क्षमता नहुँदा उपचारको पर्खाइमा यसरी नै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ ठिनी टोलमा रहेको आफ्नो घरमा १ वर्ष यताबाट दिन कटाउँदै आएका छन् ।

मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक कर्नाली दख्खिन बग्दो छ र कर्णालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुईना कर्नालीको नाटकका मुख्य पात्रका रूपमा भूमिका खेलेका थिए।

रोग,भोग,विकटतामा रहेर आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौँको पिडामा मलम लगाएका मल्लले १ वर्षबाट ओछ्यान मै थलिँदा पनि कोही सहयोगी मन भेटाउन सकेका छैनन् ।

घरको अवस्था बिहान बेलुका छाक टार्न धौ धौ पर्ने गरेको छ,त्यसमा तिन छोरा छोरीलाई पाल्नु पर्ने,बुढी आमा र श्रीमतीको मायाको पिरोलो रहेको, रोग सामान्य भए पनि औषधी गर्ने एक सुको पनि नहुँदा ओछ्यान मै थलिनु परेको मलिन स्वरमा पत्रकार मल्ल भन्छन् ।

लामो समय देखि मुगुमा बसेर नागरिक दैनिक, नयाँ पत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जको रूपमा काम गदै आएका मल्लले ओछ्यान मै थलिएपछि २ वर्ष यताबाट समाचार र नाटक लेख्न र खेल्न सकेका छैन ।

गत वर्ष बिरामी हुँदा छायानाथ रारा नगरपालिकाले ५० हजार सहयोग गरेपछि नेपालगन्ज मेडिकल कलेजमा उपचार गरेका थियौ त्यो बेला पत्रकार महासङ्घ मुगुमा आबद्ध पत्रकारहरूले पनि सहयोग गरेका थिए । पछि पुनःविरामी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोग र जुम्लाका क्रियाशील पत्रकारहरूको सहयोगमा उपचार भयो ।

 उनकी श्रीमती गङ्गा मल्ल आँखाबाट आशु झार्दै भन्छिन्,'सहयोग गरेको रकमले सामान्य उपचार भए पनि काठमाडौँ लगायत अन्य मुख्य सहरहरू रहेका सुविधा सम्पन्न अस्पतालहरूमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो की, बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधी गरौँ त्यो बेला पत्रकार नहुनुस् कतै जागिर खानुस् नभए व्यापार गरौँ भनेको थिए मान्नु भएन अहिले पैसा कताबाट ल्याऊ छोरा,छोरी बुढी सासू पालूँ की श्रीमानको उपचारका लागी माग्दै हिडु ।'

सुईना कर्णाली र कर्णाली दख्खिन बग्दोछ नाटक काठमाडौँमा चलिरहँदा नेपालमा रङ्गमञ्चको कोसेढुन्गा साबित भई त्यस यता नाटकमा दर्शकहरू तानिएका थिए । रङ्गमञ्चका एक मुख्य पात्र उही पुन्न बहादुर विश्वकर्मा(हुडके) को भूमिका निवार्ह गरेर चर्चित बनेका सुमन लामो समयसम्म बिरामी परेर ओछ्यानमा थलिँदा भने नत पत्रकारिताका नाममा भाषण ठोक्दै हिडने पत्रकारहरू आए नत रङ्गमञ्चका बादशाह सम्झने रङ्गकर्मीहरू नै ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ