arrow

नजरपुर बस्ती: जहाँ शाकाहारी भोजन मात्र चल्छ, सुर्ती र मदिरा विक्री बन्द छ (भिडियो)

logo
युवराज गौतम
प्रकाशित २०७७ चैत ५ बिहिबार
Nagarpur-rahutahat.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ को नजरपुर बस्ती यतिबेला नेपालभर चर्चित छ । एकसय ५० घरधुरी रहेको यो बस्ती पूर्ण शाकाहारी छ । श्रीकृष्ण प्रणामी मन्दिर निजानन्द धाम रहेको यो बस्तीमा धुम्रपान, मध्यपान तथा जुवा-तास जस्ता विकृतिजन्य चिजहरु पूर्ण रुपमा निषेध छ ।

त्यतिमात्र होइन बस्तीमा बाख्रा, हाँस, कुखुरा, जस्ता प्राणीहरु पाल्न र वलि दिन पाइँदैन । दुग्ध व्यवसायलाई प्रवद्र्धन गरिएको छ । गाई-भैंसीको पालन र कृषि पेशालाई प्राथमिकता दिइएको छ । मन्दिर संरक्षक सन्त सुरेन्द्र शास्त्री भन्छन्,‘यो स्थान प्रदेश नम्बर २ कै नमूना पर्यटकीय स्थलका रुपमा परिचित बनेको छ, शाकाहारी मात्र होइन यहाँका पसलहरुले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री पनि गर्दैनन्।’

बस्ती सफाचट छ । बस्ती भित्रका सडकहरु अधिकांस पक्की छन् । ठाउँ ठाउँमा आकर्षक र पक्की चौताराहरु निर्माण गरिएको छ । श्रीकृष्ण प्रणामी सामुदायिक प्राथमिक विद्यालय, नियमित योग ध्यान प्रशिक्षण केन्द्र यहाँ संचालित छ ।

बाहुन, क्षेत्री, चौधरी, विश्वकर्मा, मधेशी जातजातीको बसोबास रहेको नजरपुरका अधिकांश मानिसहरु प्रणामी धर्म मान्छन् । पाँच करोड बढीको लागतमा निर्माण भएको यहाँको मन्दिर सुन्दर र सफाचट छ । पार्कहरु निर्माण गरिएको छ ।

चपुर अर्थात चन्द्रनिगाहपुरदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको बस्ती वि.स.२०२० सालमा स्थापना भएको हो । यहाँ मन्दिरसँगै वृद्धाश्रम, श्रीप्राणनाथ अतिथि आवास, योगध्यान केन्द्र, पाकशाला एवं भोजन गृह, पुष्पवाटिका, सामुदायिक विद्यालय तथा प्रवचन कक्षको निर्माण भइसकेको छ ।

यहाँको अर्को रोचक प्रसंग के छ भने गाउँबाट ५० वर्षयता अदालतमा मुद्दा नपरेको साथै झै-झगडा तथा अपराधका घटनाहरु नभएको स्थानीयहरु बताउने गर्छन ।

हिन्दु धर्मभित्र भगवान श्रीकृष्णलाई मान्ने विभिन्न सम्प्रदाय मध्येको श्रीकृष्ण प्रणामीहरुको ठूलो समूदाय नेपालभर छरिएका छन् ।भारतमा श्रीकृष्ण प्रणामीहरुको संख्या २५ लाख रहेको अनुमान छ भने नेपालमा पनि १० लाखको हाराहारीमा रहेका मानिन्छ । 

‘प्रेम जहाँ छ, त्यहाँ समाज बन्छ’ भन्ने अभियान चलाउने प्रणामीहरुले जाँड-रक्सी, माछामासु, तमाखु सुर्ति पूर्णरुपमा बर्जित गर्ने र छुवाछुतको अन्त्यका लागि विभिन्न सचेतनाहरु संचालन गर्ने गरेको सुरेन्द्र शास्त्रीको दाबी छ ।

फोटो/भिडियो सौजन्य: नविनबाबु गुरुङ



नयाँ