arrow

४१ बर्षपछि भारतीय जेलबाट मुक्त भएका दुर्गाप्रसादकी आमाको मुहारमा चमक: 'अचम्म भो ! साईंलो भेटियो’

logo
सुदीप श्रेष्ठ,
प्रकाशित २०७७ चैत ८ आइतबार
ama.jpg

काठमाडौं । विश्वमा यस्ता घट्ना विरलै हुने गर्छन । यस्तो तनाव परिवारले विरलै सामना गर्नुपर्छ । त्यसमध्ये नौं महिना गर्वमा राखेर प्रसवपीडा सहेर जन्माएको सन्तान हुर्किएपछि एकाएक गायब हुँदा आमालाई कस्तो पीडावोध र तनाव भयो होला ? यस्तो घट्नाको अनुमान लगाउन कठिन छ । 

यस्तो पीडा र छटपटीको सामना इलामको माई नगरपालिका-१० लुम्बाककी ८५ बर्षीया धनमाया तिम्सिनाले करिब ४१ बर्ष विताइन । बिना सुनुवाई ४१ वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना(दीपक जैसी) जेलमुक्त भएपछि धनमायाको खुशीले सीमा रहेन् ।

श्रवण क्षमता कम भएकी धनमायाले हामीसँग टेलिफोनमा भनिन्, साइँलो हरायो, यता माइँलालाई हैरानी भो, परिवारलाई तनाव भो,’ उनले अगाडि भनिन्, ‘सुनेजति र जानेजति सबै खोजौं तर भेटाएनौं ।’

‘जान चाहिं उ नजिकैको मंगलबारे बजार गएको थियो तोरी बेच्नलाई । त्यो दिन उ दिदीको घरमा बास बसेको थियो । त्यसपछि उ घर जाने भनेर हिंडेको थियो रे तर कहिल्यैं फर्किएन सबै आफन्त र चिनेजानेका सबैलाई खबर गरेका हौं पत्तो लागेको थिएन्,’ धनमायाले भनिन्, अचम्म भो ! साईंलो भेटियो, आज आउँदैछ रे ।’

खेती किसानीमा जीवनयापन गरिरहेको तिम्सिना परिवारमा साइँला(जेलमुक्त) घरायसी कामका लागि मेरुदण्ड नै थिए । आमा धनमाया भन्छिन्,‘साइँलो हराएपछि घरको काम गर्ने दाहिने हात नै भाँचिए झैं भो, त्यो भन्दा पनि कतै अप्रिय घट्ना पो भो कि भन्ने पीडा भइरहयो ।’

४१ वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका तिम्सिना काँकडभिट्टा हुँदै नेपाल भित्रिएपछि घरपरिवार र गाउँघरमा खुशीयाली छाएको छ । श्रीमान चम्पाखर र माइँलो छोरा केदारलाई गुमाइसकेकी धनमाया ४१ बर्षपछि फर्किइको साइँलो छोराको आगमनले मुहारमा चमक छाएको छ । घरमा पुगेका पत्रकारहरुसँग उनले हाँसेर तस्विरहरु खिचाएकी छिन् । घरमा धनमाया, उनको छोरो कान्छो र छोरी दुर्गालाई व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्ण र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

उनी काँकडभिट्टामा आइतवार बिहान ९ः१५ बजे आइपुगेका हुन् । कोलकाताबाट शनिवार स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।

आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए । उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए ।

१९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए  । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन ।

हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्‍याएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको छ ।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए , त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्‍याइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए । घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा छन् । उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो । दुर्घटनामा परी आमा धनमायाको एउटा हात काटेर फाल्नुपरेको थियो ।

तस्विर सौजन्य: सटेन्द्र जवेगु


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ