arrow

भारतले खोप निर्यात रोक्यो, नेपालमा खोप अभियान प्रभावित हुनसक्ने

थप खोप आयातका लागि भारतसँग कुरा भइरहेको छ: परराष्ट्र

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत १२ बिहिबार
Vaccine-Covid-Corona-Nepal.jpg

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा रोक लगाउने निर्णय गरेको छ । सेरम इन्स्ट्यिुटले उत्पादन गरेको एस्ट्राजेनेका खोप निर्यातमा रोक लगाउँदा नेपालको खोप अभियान समेत प्रभावित हुने देखिएको छ ।

नेपाल सरकारले सेरम इन्स्ट्यिुटसँग २० लाख डोज खोप खरिदका लागि यसअघि नै भुक्तानी र सम्झौता गरिसकेको थियो ।खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज मात्रै नेपाल भित्रिएका थिए ।

सम्झौता अनुसार बाँकी १० लाख पनि आइसक्नु पर्ने समय भइसकेको छ । तर, पनि १० लाख डोज नेपाल आइपुगेको छैन ।

अहिले भारत सरकारले खोप निर्यातमै रोक लगाउँदा खरिद गरेकै १० लाख डोज भित्रिन ढिलाइ हुने देखिएको हो । यसो हुँदा नेपालको खोप अभियान नै प्रभावित हुनेछ ।

भारतमा हिजो मात्रै ५० हजार थप नयाँ सङ्क्रमित थपिएका छन् । यो पछिल्ला ५ महिना यताकै उच्च सङ्क्रमण हो ।सङ्क्रमण बढ्दै जाँदा देशलाई प्राथमिकतामा राख्दै भारतले खोप निर्यातमा रोक लगाएको हो ।

नेपाल बाहेक सेरम इन्स्ट्यिुटले ब्राजिल, ब्रिटेन, मोरक्को र साउदी अरेबियाको खोप निर्यातमा पनि ढिलाइ गरेको छ ।

खोप चाँडै आउँछ

नेपालसँग अहिले करिब ६ लाख डोज खोप मात्रै भण्डारमा छ भने, पहिलो र दोस्रो खोप अभियानमा गरी करिब १७ लाख ५८ हजारले खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारले खरिद गरिएको खोप चाँडै नै नेपाल भित्रिने बताएका छन् । ‘नयाँ निर्णय (निर्यात रोक)पछि भारतीय पक्षसँग छलफल भएको छैन, सम्झौता अनुसार खोप (१० लाख डोज) आइपुग्नु पर्ने हो,’ उनले भने ।

नेपालमा पहिलो खोप अभियानमा करिब ४ लाख २९ हजारले खोप लगाएका थिए । वैशाख ७ गतेदेखि उनीहरूलाई दोस्रो डोज लगाइने भएको छ ।

सरकारसँग भएको ६ लाख डोज खोप दोस्रो डोजका रूपमा लगाइने भएको हो । केही खोप खेर पनि जाँदा यो खोप उनीहरूलाई मात्रै पुग्ने देखिन्छ ।

कुल खोप लगाउने १७ लाख ५८ हजारमध्ये बाँकी दोस्रो डोज लगाउन बाँकी रहनेहरूका लागि अहिले देशमा खोप भित्रिएको छैन, भने कहिले भित्रिने पनि टुङ्गो पनि छैन ।

‘भारतमा नै उत्पादन कम, अत्यधिक मागका कारण उनीहरूलाई नै समस्या छन्, तर दोस्रो डोज लगाउन हाम्रो अत्यावश्यकता भएका कारण यताबाट छलफल गरेर खोप भित्रिन्छ,’  सह प्रवक्ता डा. अधिकारीले भने ।

कोभ्याक्स सुविधा पनि प्रभावित हुनसक्छ

भारतले खोप निर्यातमा रोक लगाउँदा कोभ्याक्स सुविधा अन्तर्गतको खोप अभियान पनि प्रभावित हुनसक्ने देखिन्छ ।

कोभ्याक्स सुविधाबाट १ करोड ३० लाख खोप नेपाल आउने प्रतिबद्धता छ । तर, हालसम्म ३ लाख ४८ हजार डोज मात्रै नेपाल भित्रिएको छ ।

कोभ्याक्स सुविधाको खोप नेपाल भित्रिएमा दोस्रो अभियानमा खोप लगाएकाहरूलाई दोस्रो डोज लगाउने अवस्था बन्ने देखिन्छ ।तर, कोभ्याक्स सुविधा पनि प्रभावित भए नेपाललाई झनै कठिनाइ हुनेछ ।

खोप आपूर्तिका लागि अनुरोध

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नै खोप आपूर्तिका लागि पहल भइरहे पनि आपूर्तिका लागि अनुरोध परराष्ट्र मन्त्रालयले पनि गरेको छ ।

खरिदपछि आपूर्ति नभएको बाँकी १० लाख डोज खोप आपूर्तिका लागि भारतसँग अनुरोध गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् ।

चिनियाँ खोप भित्रिँदै

सरकारी स्वामित्वको चिनियाँ खोप उत्पादक कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप भने केही दिनभित्रै नेपाल भित्रिने भएको छ ।

चीनले अनुदान स्वरूप नेपाललाई ८ लाख डोज सिनोफार्मले उत्पादन गरेको खोप अनुदान स्वरूप दिने घोषणा गरेको थियो ।

खोप दर्ता गर्न आवश्यक कागजात उपलब्ध गर्न आनाकानी गर्दा लामो समय चिनियाँ खोप नेपाल भित्रिन सकेको थिएन ।

अहिले चिनियाँ खोप भित्र्याउने प्रक्रिया पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले केही दिनभित्रै चिनियाँ खोप नेपाल भित्रिन बताए ।

सबै तयारी पूरा भइसक्दा लगभग हप्ता दिनभित्रै चिनियाँ खोप नेपाल भित्रिने भएको हो ।नेपालमा यो खोपले अहिलेसम्म आपत्कालिन प्रयोगका लागि मात्रै अनुमति पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ