arrow

फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेश विरुद्ध नेपाली टोली मैदानमा उत्रने

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
Dashrath-stadium-football.jpg

काठमाडौं। घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो । 

यो बराबरीसँगै नेपालले बंगलादेशसँगको खेलमा आएको नतिजाले फाइनल यात्रा बारे निष्कर्ष निकाल्ने छ। नेपालले बराबरी वा खेल जित्नु पर्ने आवश्यकता रहेको छ। खेल शनिवार हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उहाँले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्दा महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिवारको खेल खेल्ने बताए । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उनको भनाइ थियो ।  

नेपालले आफ्नो दोस्रो खेल शनिवार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको  फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने आजको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् । 

मध्यान्तर अघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारेका थिए ।

गोलकिपरको प्रयास राम्रो रहनु एक पक्ष हो भने नेपाली खेलाडीहरूको प्रहार पनि फितलो र लयविहीन देखिएको थियो। पुरै खेल अवधिभर नेपालले पटक-पटक आक्रमण गरेको थियो तर गोल गर्ने बेलामा बलले गोलपोष्ट भन्दा बाहिर तिरको बाटो देख्थ्यो। कतिपय अवसरहरूमा  अग्र पङ्क्तिका खेलाडीहरूको प्रहार फितलो र अनियन्त्रित रहेको थियो। 

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन । रङ्गशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरेका थिए। 

नेपाली टोली खेलको सुरुआतदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गर्नुभएको प्रयास विफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन । यसै गरी मध्यान्तर अघि खेलको १० औँ, १४ औँ, २२ औँ, २९ औँ, ३४ औँ र ४३ औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए । गोलमा परिणत हुन नसक्दा दर्शकहरू मध्यान्तरपछिको खेलमा गोलको आश गर्दै दर्शकदीर्घामा बसिरहेका थिए । 

मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गरेका थिए । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारेका थिए । यस्तै खेलको ५६ औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गरेका थिए । विष्ट खेलको ६३ औँ मिनेटमा पनि गोल गर्नबाट चुकेका थिए । खेलको ७१ औँ मिनेटमा  नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुस्किलले जोगाए । 



नयाँ