arrow

कोरोना संक्रमण दर बढ्दैः चौतिस सीमा नाका खुला

संक्रमणको जोखिम बढ्ने खतरा

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
Border-nepal-india-belahiya.jpg

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा मुलुकका ३५ सीमा नाका खुला छन् । ती मध्ये भारततर्फका मात्रै ३३ नाकाबाट सहज आवतजावत हुँदै आएको छ ।

संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद बैठकले १४ वटा नाका खुला गरिएकोमा थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको थियो । त्यसबाहेक दार्चुलाका झुलुङ्गे पुलबाट आवतवाजत गर्ने गरिएको चार नाकासमेत खुला छ ।

१० चैत २०७६ देखि सबै सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउन खुला गरिएको थियो ।

भारततर्फ संक्रमण बढ्दै गर्दा र सबै सीमा नाका खुला हुँदा तथा आवतजावत गर्नेहरुको तथ्यांक नराखिदा फेरी पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । पछिल्लो समय भारतबाट सीमा नाका हुँदै कति व्यक्ति नेपाल प्रवेश गरे भन्ने बारे उनीहरुको यकीन जानकारी र तथ्याकं सरकारले राखेको छैन ।

हाल दैनिक रुपमा एक सय भन्दा माथिको संख्यामा कोरोना संक्रमित थपिंदै आएका छन् । यो संख्या केहीअघि भने दैनिक एक सय भन्दा तल हुँदै आइरहेको थियो ।

खुला सीमाका कारण नेपाल र भारत बीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन भने भएको गृहका अधिकारीहरु बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकाहरुमा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन गरिएको उनले जानकारी दिए ।

‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न भनिएको छ, सीमा नाका हुँदै आएकाहरुमा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्ने व्यवस्था गर्न पनि भनिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढाले भने ।

यसैगरी आम सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले सबैमा आग्रह गर्दै आइरहेको छ ।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निणर्यका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए ।

सीमा नाकामा सीमा सुरक्षाका लागि भन्दै हाल २ सय १५ बीओपी संचालनमा छन् ।  ती बीओपीहरुमा २२ हजार सशस्त्र प्रहरी खटिदैं आइरहेका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार भारततर्फका दक्षिण नाकामा मात्रै हाल सशस्त्रका २ सय ८ बीओपी संचालनमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ