arrow

यातायात क्षेत्रमा बैङ्कहरूले ढुक्कसँग लगानी गर्ने माहौल बन्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २० शुक्रबार
Bank-loan-auto-vehicle.jpg

काठमाडौं । यातायात व्यवसायीहरूले फेरि पुरानै लय समातेका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द रहेका विभिन्न क्षेत्रहरूसँगै यातायात क्षेत्र पनि अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ ।

गत असोजदेखि नै सुरुमा छोटो दुरी, जोर-बिजोर गरेर सञ्चालन हुँदै आएका लामो र छोटो दुरीको यातायात अहिले लकडाउन पूर्व कै अवस्था अनुसार सञ्चालनमा आइसकेका छन् ।

अहिले नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । यसबिच सरकारले खोप अभियान समेत सञ्चालनमा ल्याइसकेको छ । जोखिमको अवस्थामा रहेका लाखौँ नागरिकहरूले खोप लगाइसकेका छन् ।

तर पनि, अझै स्थिति सामान्य नभइसकेको हो कि भन्ने डरमा ठुला लगानीका क्षेत्र मध्येको एक यातायातमा बैङ्क तथा वित्त क्षेत्रहरूले ढुक्कसँग लगानी गर्न सकेका छैनन् ।

बजारमा गाडी एवं ठुला व्यावसायिक सवारी खरिद गर्नेहरूको लहर बढ्दै गएको अवस्था छ । यस्तोमा ऋण लगानी गर्नका लागि बैङ्क र वित्त क्षेत्रहरू निर्धक्क हुन नसकेका हुन् ।

लकडाउनका कारण गाडीको किस्ता अवधि लम्बिँदा र समयमै भुक्तानी नपाउँदा खास गरी कारोबारको ‘ईकोसिस्टम’मा खलबल भने भएको थियो ।

तर, अहिले सबै कुरा व्यवस्थित हुँदै जाँदा यातायात क्षेत्र सामान्य अवस्थामा फर्किसकेको छ । अहिले छोटो दुरीका गाडीहरूले दैनिक ३ देखि ५ हजार र लामो दुरीकाले १० हजार रुपैयाँ आम्दानी गर्न थालिसकेका छन् ।

हाल औसतमा हेर्दा बस खरिदमा ३० प्रतिशत लगानी व्यवसायीको छ भने, करिब ७० प्रतिशत ऋण लगानी बैङ्कहरूले गर्दै आएका छन् ।

लकडाउनका कारण बैङ्कहरूलाई यो क्षेत्रबाट अलिकति धक्का लागेको थियो । त्यसै कारण अझै लगानी गर्न उचित वातावरण बन्न नसकेको हो की भन्ने दुबिधामा बैङ्कहरू छन् ।

तर, अहिले सार्वजनिक यातायात पूर्ण रूपमा लय फर्किसकेको बिक्रेताहरू बताउँछन् । बिक्रेताहरू कहाँ लगभग पहिलेकै तुलनामा गाडी खरिदका लागि व्यवसायीहरू आउन थालेका छन् ।

लकडाउनको समयमा निजी सवारीको माग बढेको र अहिले महामारी सुरु हुन पूर्वकै हाराहारीमा बस खरिद हुन थालेको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका वरिष्ठ उत्पादन प्रबन्धक कृष्ण चन्द बताउँछन् ।

महामारी सुरु भएको अवस्थामा सर्वसाधारण, व्यवसायीदेखि हरेक मानिसहरूमा त्रासको अवस्था थियो । तर, अहिले खोप नै सञ्चालन भइसक्दा अब यातायात क्षेत्रमा असर नपर्ने प्रबन्धक चन्दको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत गत माघ मसान्त सम्ममा यातायात क्षेत्रमा बैङ्क क्षेत्रहरूले उठाउन बाँकी रकम १ सय६४ अर्ब छ ।

यसबाट व्यावसायिक प्रायोजनका सवारी साधन (बस, स्काभेटरलगायत)मा १ सय १० अर्ब लगानी मात्रै उठान बाँकी छ ।

ओभर ड्राफ्ट समेत गरेर यो रकम बैङ्कहरूले उठाउन बाँकी रहेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणकर भट्ट बताउँछन् ।

गत वर्ष (२०७६)को माघ मसान्त सम्ममा यातायात क्षेत्रबाट १ सय ८३ अर्ब रकम उठाउन बाँकी थियो । यसबाट यातायातका क्षेत्रमा बैङ्कहरूले लगानी बढाएको देखिँदैन ।

कोरोना भाइरसको महामारीका कारण यातायात क्षेत्रमा लगानी गर्ने अवस्था नबनेको देखिन्छ । तर, अहिले स्थिति सामान्य भइसक्दा व्यवसायीहरूले गाडी खरिद गर्न खोजिरहेका छन् । खरिदकर्ताको माग अनुसार बैङ्कहरूले लगानी गर्दा यातायात क्षेत्र पुरानै लयमा फर्किन्छ ।

यद्यपि, सानिमा बैङ्कका एक अधिकारीले भने बैङ्कले हरेक क्षेत्रमा कर्जा प्रवाह गरिरहेको बताएका छन् ।

‘बैङ्कहरूमा अहिले राम्रै पैसा रहेको अवस्था छ । त्यस कारण हरेक क्षेत्रमा लगानी भइरहेको नै छ, यातायातका क्षेत्रमा पनि बैङ्कहरूले लगानी गरिरहेकै छन्,’ ती अधिकारीले भने ।

महामारीका कारण यातायात क्षेत्र ठप्प रहँदा बैङ्कहरूलाई सो क्षेत्रको लगानी व्यवस्थापन गर्न समस्या परेको थियो । तर, अहिले स्थिति सामान्य हुँदै जाँदा बैङ्कहरू फेरि महामारी सुरु हुन अघिको अवस्था जसरी नै लगानी गर्न थालेको उनको भनाइ छ ।

 



नयाँ