arrow

प्रधानमन्त्रीले ‘बंक’ गर्दै आएको प्रतिनिधि सभाको नवौं बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
samsad_1618192854.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बंक’ गर्दै आएको प्रतिनिधिसभाको सातौं अधिवेशनको नवौं बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेलाई डाकिएको हो । 

सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा उल्लेख छ । 

तर प्रधानमन्त्री ओली अहिलेसम्म संसदमा भाग लिएका छैनन् । उनैले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले ब्युँताइदिएपछि गत फागुन २३ गतेदेखि अहिलेसम्म आठ वटा बैठक बसेका छन् । 

यी बैठकमा शुरुका दुई वटा बैठकमा सहभागी हुन गए पनि बैठक शुरु हुनुअघि नै ओली कुलेलम ठोकेका थिए । तेस्रो बैठकमा भने बैठक सकिएपछि संसद भवन नयाँ बानेश्वर पुगेका थिए । 

त्यसपछि भने उनी बैठकमै गएका छैनन् । तर सरकारले संसदलाई बिजनेश पनि दिएको छैन । सरकारले यो अधिवेशनलाई यत्तिकै सकाउने योजना बनाएको छ । 

जेठ १५ गते कुनै पनि हालतमा नयाँ आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकाले त्यसअघि नीति तथा कार्यक्रम र बजेटका कार्यक्रम राख्ने गरी सरकारले यो अधिवेशन स्थगित गर्न खोजेको बुझिन्छ । 

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई साथ नदिएको आरोपसमेत लगाएका छन् । 

ओलीले फेरि पनि संसद विघटन गर्ने धम्कीसमेत दिइसकेको अवस्थामा यसको गरिमा राख्नका लागि भने सभामुखलाई पनि कठिन बनेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित भएर बहस गर्न चुनौती दिएको छ । 

ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । त्यसपछि परेका १३ वटा मुद्दामा फैसला गर्दै सर्वोच्चले फागुन ११ गते १३ दिनभित्र जसरी पनि बैठक बोलाउन निर्देशन दिँदै संसद ब्युँताएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ