arrow

सिराहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
Kalyanpur_NaPa.png

लहान। व्यापक अनियमितता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिराहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्। नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमितता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन्।

नगर सभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन्।

कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रूपमा ११ सूत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए।

चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बाल पोषण लगायतको भुक्तानी गर्न नसकेकाले आफूलाई स्थानीयवासीले पटक पटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरूलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ वडाध्यक्ष जयराम कामतीले बताए।

कार्यवाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलेमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा आसेपासेलाई जिम्मा दिई आफूखुसी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ