arrow

एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना

अर्थमन्त्री पौडेलद्वारा लगानीदूतको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
mof-nrna.jpg

काठमाडौँ। नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ।

अर्थ मन्त्रालय र गैर आवासीय नेपाली सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैर आवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घबिच भएको समझदारी बमोजिम गैर आवासीय नेपाली सङ्घले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो।

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीलाई आग्रह गरे।

सरकार कानुनी र नीतिगत रूपमा विदेश पुँजी भित्राउन प्रतिबद्ध छ। छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पुँजी पनि ल्याउन चाहन्छ, अर्थमन्त्री पौडेलले भने, लगानी वैध स्रोतको र बैङ्किङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ।

अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फन्ड स्थापनमा सहयोग पुर्‍याउनु हुने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे। नेपाल राष्ट्र बैङ्कमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रूपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रूपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। राजस्व सचिव रामशरण पुडासैनीले गैर आवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि  सरकारले आवश्यक सहयोग गर्ने बताए।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले केही वर्षमा फन्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‍याउने बताए।

गैर आवासीय नेपाल सङ्घका संस्थापक अध्यक्ष तथा फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकार सहित सबैको साथ सहयोगको अपेक्षा गरे।

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रवर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ। नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।

गैर आवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिने योजना रहेको गैर आवासीय नेपाली सङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ