arrow

दुई वर्ष ढिला गरी लाप्राक बस्ती निर्माण सकियो, भब्य समारोहबीच हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
laprak.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वकाक्षी परियोजना लाप्राक बस्ती निर्माण सकिएको छ । पूर्वनिर्धारित समयभन्दा करिव दुई वर्ष ढिला गरी बस्ती निर्माण सकिएको हो ।

गोरखाको लाप्राकमा निर्माण गरेको एकीकृत नमुना बस्ती बीहिबार एक समारोहबीच स्थानीयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा एनआरएनले स्थानीय घरधनीहरुलाई घर प्रदान गरेको हो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राकमा एनआरएनएले ५७३ वटा घर निर्माण गरेको छ । त्यसबाहेक स्थानीय तहले थप २९ वटा घर निर्माण गरेको छ ।

लाप्राक नमुना वस्ती निर्माण परियोजनाका संयोजक एवम् एनआरएन उपाध्यक्ष सोनाम लामाले घरधनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको जनाएका छन् । बस्ती निर्माण घरसँगै सामुदायिक भवन पनि निर्माण गरिएको छ । आधारभूत सबै सेवासहितको वस्ती निर्माणमा करिव साठी करोड खर्च भएको बताइएको छ ।

वस्ती हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघद्वारा निर्मित वस्ती हस्तान्तरण गर्न पाउँदा आफूँलाई खुसी लागेको बताउँदै यसमा संघका सम्पूर्ण सदस्यहरुको तन, मन र धनको लगानी परेको बताए ।

भूकम्पको केन्द्र बिन्दु बारपाक नजिकैको गाउँ लाप्राक भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो । पहिले फरक फरक शैलीका घरहरु भए पनि संघले निर्माण गरेको नमुना वस्तीमा भने एकै किसिमका घरहरु रहेका छन् ।

यद्यपी, निर्माण गरिएका घरहरु साँघुरो रहेको साथै अधिकांश स्थानीयहरु निर्माण स्थल छाडेर अन्यन्त्रै घर निर्माण गरेर बसिसकेकाले लाप्राकमा निर्माण भएका घरहरु खाली नै रहनसक्ने अनुमान गरिएको छ । लाप्राक क्षेत्र लेकाली स्थानमा रहेकाले चिसो र विविध असुविधाका कारण घरधनीहरु उक्त बस्तीमा नबस्ने हुन कि भन्ने चिन्ता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ