arrow

एनएसएल फुटबलः ललितपुर र चितवनको बराबरी, काठमाडौं र धनगढी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
nsl-league.jpg

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरीको खेलेका छन् । सोमबार बेलुकी सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो । 

दशरथ रंगशाला पहिलो हाफ बराबरीमा सकिएको थियो । त्यसपछि शुरुआती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग बराबरी खेल्न पुग्यो । 

ललितपुरका लागि कमल श्रेष्ठले ४९ औं मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा चितवनले पाएको पेनाल्टीमा अमित तामाङले गोल गरे ।

चितवनका गोलकिपर विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ पाए । ललितपुरका विनोद गुरुङ प्रोमोसिङ प्लेयर अफ दि म्याच चुनिएर १० हजार रुपैयाँ पाए ।

ललितपुरको यो पहिलो अंक हो । उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले स्तब्ध भएको थियो ।

चितवनले पहिलो खेलबाट १ अंक जोडेको हो ।

अंक तालिका
गत शनिबारदेखि भएको खेलमा अहिलेसम्म ४ खेल भएका छन् । जसमा ३ अंकसहित विराटनगर, बुटवल लुम्बिनी र काठमाडौं क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् भने १ अंकसहित चितवन चौथो तथा ललितपुर १ अंकबाटै पाँचौं स्थानमा छ । 

बाँकी दुई टिम पोखरा र धनगढीले अंक जोड्न सकेका छैनन् । 

मंगलबारको खेल
मंगलबार एक खेल मात्र हुँदैछ । दशरथ रंगशालामा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । धनगढीले पहिलो खेल हारेको छ भने काठमाडौंले पहिलो खेलमा ललितपुरलाई हराएको थियो । 

यो खेल जित्दा काठमाडौं ६ अंकसहित शीर्ष स्थानमा पुग्न सक्नेछ भने धनगढीले जित्दा महत्वपूर्ण ३ अंकसहित शीर्ष स्थानका टिमहरुसँग आफूलाई उभ्याउन सक्नेछ । 



नयाँ